अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको दोस्रोपटक फिल्ममा सहकार्य हुने भएको छ । यसै साता ओखलढुंगामा फिल्म ‘डिग्री माइला’को छायांकन पूरा गरेका उनीहरुले अब निर्देशक तथा लेखक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दु:खी आत्मा’मा काम गर्न लागेका हुन् । आइतबार निर्माण टिमले आँचलसँग कागजी सम्झौता गरेको छ । दयाहाङ भने यसअघि नै अनुबन्ध भैसकेका छन् ।
स्क्रिप्टको मागअनुसार आँचललाई फिल्ममा लिइएको निर्देशक लामाले जानकारी गराए । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिँदा भने अभिनेत्रीमा मिरुना मगरको नाम राखिएको छ । दयाहाङ र मिरुनाले धेरै फिल्ममा काम गरिसकेकाले ‘दु:खी आत्मा’मा निर्देशक लामाले एउटै जोडी दोहोर्याउन नचाहेको देखिन्छ । ‘नाङ्गो गाउँ’ निर्माता हिमाल कडरियाले फिल्मको निर्माण गर्नेछन् ।
सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्न लागिएको फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम भैरहेको छ । आगामी चैत अन्तिम साताबाट छायांकन सुरु गरिने फिल्मलाई काठमाडौं आसपासमा खिचिने तयारी छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ । ‘दु:खी आत्मा’पछि निर्माता कडरियाले दयाहाङ राई र आर्यन सिग्देललाई लिएर फिल्म ‘गाउँ नै रमाइलो’ निर्माण गर्दैछन् ।