अभिनेता माओत्से गुरुङको डेब्यु निर्देशित फिल्म ‘दयारानी’को पारिवारिक कथामा आधारित ट्रेलर सार्वजनिक गरिएको छ । निःसन्तान दम्पतीको कथामा केन्द्रित रहेको ट्रेलरमा दयाहाङ राईले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएर त्यसको दोष श्रीमती (दीया पुन)लाई लगाउँछन् । त्यसपछि दीयाले दोस्रो विवाह गर्न दबाब दिएपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा रोचक र मर्मस्पर्शी शैलीमा देखाइएको छ ।
ट्रेलरको मध्यतिर एक युवतीले आफ्नो गर्भमा हुर्किरहेको बच्चाको बाबु दयाहाङ रहेको आरोप लगाउँछिन् । तर, दयाहाङले त्यो स्वीकार गर्दैनन् । एकातिर बाबु बन्न नसक्ने चिकित्सकको दाबी र अर्कोतिर एक युवतीले आफ्नो बच्चाको बाबु रहेको आरोप लगाएपछि देखिएको उतार-चढावमा ट्रेलर केन्द्रित छ । साढे २ मिनेटको ट्रेलरले फिल्मको दृश्यभाषा सशक्त रहेको संकेत गर्छ ।
फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङ लगायतको पनि अभिनय छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको फिल्मको निर्मातामा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चर छन् भने कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।
नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । ‘दयारानी’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।