‘ऐंचो पैंचो’ निर्देशक तथा निर्मात्री कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यही माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध भएका छन् । कलाकारको यो ‘लाइनअप’ले फिल्म रोचक बन्ने देखिन्छ ।
कृषा स्वयंको निर्देशन रहने फिल्मको निर्मातामा उनका भाई विशाल चौलागाईं छन् । केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्मको तीन चरणमा छायांकन हुनेछ । हुस्सुको सिन खिच्नुपर्ने भएकाले माघमा फिल्मको पहिलो चरणको छायांकन गर्ने तयारीमा कृषा छिन् । त्यसपछि बैशाख र असार-साउनमा बाँकी छायांकन हुनेछ ।
फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी फिल्मको दोस्रो चरणको छायांकनमा मात्र जोडिनेछन् । उनको बाल्यकालको आमाको भूमिकामा सुरक्षा पन्तले अभिनय गर्ने जानकारी प्राप्त छ । बदलाको कथामा बन्न लागेको फिल्मलाई निर्देशक चौलागाईंले ‘लार्ज स्केल’ बनाउँदैछिन् । ५ करोड बजेट अनुमान गरिएको फिल्मको तराईंका विभिन्न ठाउँहरुमा छायांकन हुने जनाइएको छ ।