शंकर कोइरालाको निर्देशनमा बन्न लागेको फिल्म ‘मोदीबेनी’को शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप बोर्ड पूजा गरेपछि निर्माण टिम छायांकनका लागि काभ्रे प्रस्थान गरेको हो । फिल्ममा अभिनेत्री केकी अधिकारीको अभिनय रहन सक्ने चर्चाबीच उनको ठाउँमा वर्षा सिवाकोटीलाई अनुबन्धित गरिएको छ ।
स्क्रिप्ट र चरित्र अब्बल भएकाले फिल्ममा काम गर्न लागेको वर्षाले बताएका छन् । ‘मेरो भूमिका भिन्न छ । कथावस्तु पनि फरक छ । यो फिल्म एक नयाँ प्रयोग पनि हुनसक्छ,’ उनले भनिन्, ‘अहिले दर्शकले पनि केही फरक खोजिरहनुभएको छ । त्यसको लागि यो फिल्म उदाहरण बन्न सक्नेछ ।’ फिल्ममा वर्षाको जोडी अमर प्रताप श्रेष्ठसँग बाँधिनेछ । अमरले यही फिल्मबाट डेब्यु गर्दैछन् ।
‘मोदीबेनी’बाट अभिनेत्री रेजिना उप्रेतीले ९ वर्षपछि कमब्याक गर्दैछिन् । फिल्ममा उनको जोडी दीलिप केसी रहेका छन् । स्रोतका अनुसार, रेजिनाले फिल्ममा वर्षाको आमाको भूमिका निर्वाह गर्न लागेकी हुन् । फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराईको पनि अभिनय रहनेछ । फिल्ममा आनन्द बिक्रम क्षेत्रीको लेखन छ ।
निर्देशक कोइरालाले पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित भएर फिल्म बन्ने जानकारी दिए । दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको ‘मोदीबेनी’मा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।