तीन ‘स्टार’ अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहबीच पहिलोपटक सहकार्य भएको फिल्म ‘पूजार सार्की’को छायांकन सुरु गरिएको छ । मंगलबार शुभ-मुहूर्तपछि कास्की जिल्लाको कास्कीकोटमा दृश्य खिच्न थालिएको हो । एक महिनाको सेड्युलमा फिल्मको सम्पूर्ण छायांकन कास्कीकोट क्षेत्रमै हुनेछ । आइतबार सार्वजनिक फर्स्टलुक पोस्टरपछि फिल्मको चर्चा चुलिएको छ ।
जातीय विभेदविरुद्ध समाजका तीनजना पात्रहरुले गर्ने साझा सङ्घर्षको कथालाई उठान गरिएको फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहनेछ । फिल्ममा आर्यनको जोडी अञ्जना र प्रदीपको जोडी परीक्षासँग बाँधिएको छ ।
‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउतले निर्देशकीय जिम्मेवारी सम्हालेको फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि दिनेश र विकासले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर रहनेछ ।