केही वर्ष नेपाली फिल्ममा एक्सनको चर्को अभाव देखियो । कमेडी र लभस्टोरी फिल्म बनाउन मेकरहरु बढी केन्द्रित हुँदा एक्सन छुटिरहेको थियो । कोभिडपछि बलिउड र साउथले एक्सन फिल्मलाई प्राथमिकता दिन थालेपछि अब नेपालमा पनि त्यो लहर सुरु भएको छ । अर्को वर्ष एक्सन फिल्मको निर्माण उच्च हुने देखिन्छ । यसले नेपाली फिल्मको ट्रेन्ड नै बदल्ने विश्लेषण भइरहेको छ ।
आगामी फागुन १८ गतेदेखि प्रदर्शन हुन लागेको एक्सन फिल्म ‘अगस्त्य’प्रति पनि अपेक्षा चुलिँदो छ । यसै हप्ता सार्वजनिक भएको टिजरपछि फिल्मको एक्सन र मेकिङलाई लिएर चर्चा भइरहेको छ । टिजरलाई युट्युबमा दर्शकबाट मिलेको तारिफ हेर्दा त्यसको प्रभाव बक्स अफिसमा पर्ने सम्भावना देखिएको छ । टिजर हेरेपछि धेरैले नेपाली फिल्मको लेभल बढेको भन्दै प्रशंसा गरेका छन् ।
टिजरमा सर्वाधिक तारिफ अभिनेता सौगात मल्लको भएको छ । उनको फरक-फरक लुक्स र एक्सन अवतारलाई रुचाइएको छ । कतिले फिल्मलाई हिन्दी भाषामा डब गर्न पनि सुझाव दिएका छन् भने कतिले टिजरका दृश्य र ब्याकग्राउन्ड म्यूजिकले ‘गुसबम्प्स’ भएको प्रतिक्रिया जनाएका छन् । टिजरले फिल्मप्रति दर्शकको अपेक्षा बढाउँदा निर्माण टिमका लागि भने ठूलो चुनौती बनेको छ ।
सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सौगातको जोडी अभिनेत्री मलिका महतसँग बाँधिएको छ । फिल्मको एउटा पार्टमा उनी मानसिक सन्तुलन गुमेको चरित्रमा देखिनेछन्, जुन दर्शकका लागि ‘सरप्राइज प्याकेज’ हुने निर्माण टिमको विश्वास छ । फिल्ममा नाजिर हुसेन, प्रमोद अग्रहरी, निश्चल बस्नेत, विजय बरालको पनि अभिनय छ । यो फिल्मको दोस्रो श्रृंखला पनि निर्माण गरिँदैछ ।