वर्षेनि अमेरिकामा आयोजना हुँदै आएको नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण अगामी वर्षको असार ७ देखि १० गते (२०२४ जुन २० देखि २३) सम्म हुने भएको छ । अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरिबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ ।
महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, सर्ट फिल्म, एनिमेशनका साथै सबै विधाका फिल्महरु प्रदर्शन हुनेछन् । नेपाल, अमेरिका र दक्षिण एसियालगायतका देशका स्वतन्त्र फिल्महरु महोत्सवको उच्च प्राथमिकतामा पर्ने गरेका छन् । अमेरिकाका वासिङ्गटन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत फिल्महरु पनि प्रदर्शन गरिने जनाइएको छ ।
महोत्सवको निर्णायक समितिले आवेदन परेका फिल्ममध्येबाट प्रदर्शनका लागि छनोट गर्नेछ । त्यसमध्ये सर्वोत्कृष्ट फिल्महरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । महोत्सवको क्रममा फिल्म, संस्कृति र प्रविधिबारे प्यानल छलफल तथा कार्यशाला समेत हुने जनाइएको छ । नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आइरहेको छ ।