अभिनेता माओत्से गुरुङले ‘दयारानी’मार्फत् मूलधारको फिल्म निर्देशनमा परीक्षा दिएका छन् । यही माघ २६ गतेदेखि प्रदर्शन हुन लागेको फिल्ममा उनले निःसन्तान दम्पतीको कथालाई उठाएका छन् । यो फिल्म उनले ५ वर्षअघि नै बनाएका हुन् । तर, देशको अवस्था र कोरोना महामारीका कारण फिल्म रिलिजमा ढिलाई भयो । यद्यपि, फिल्मको कथा सदाबहार रहेको उनको दाबी छ ।
माओत्सेलाई सबै कथा बुलन्द हुन्छन् भन्ने लाग्छ । मात्र त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा निर्देशकको शैलीमा निर्भर हुने उनको बुझाई छ । ‘दयारानी’मा कथा र प्रस्तुति दुवैलाई ध्यान दिइएको उनी दाबी गर्छन् । एउटा पुरुषको अहंकारले परिवार र समाजमा महिलाले कसरी दबाब झेल्नुपर्छ र आफ्नो खुसी बाँड्न कसरी तयार हुन्छन् भन्ने कथामा फिल्म आधारित रहेको उनको भनाई छ ।
उनी भन्छन्, ‘फिल्मले एउटा अहंकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ । हाम्रा समाजमा केही पुरुष त्यस्ता छन्, जो आफ्ना कमी-कमजोरीको दोष अरुमाथि थोपर्ने र ‘म कमजोर छु’ भन्ने कुरालाई आत्मसाथ गर्न नसक्ने मनोवृत्ति प्रस्तुत गर्छ । फिल्मले देखाउन खोजेको नै यही हो ।’ नेपाली समाजमा महिलामाथि पितृसत्ता अझै हाबी छ भन्ने तथ्य पनि फिल्मले उजागर गर्ने उनको जिकिर छ ।
माओत्सेले फिल्मको सिक्वेलका लागि कथा समेत तयार पारिसकेका छन् । फिल्म रिलिजपछि निर्माताहरुले ‘ग्रीन सिग्नल’ देखाएको अवस्थामा सिक्वेलका लागि धेरै समय कुर्नु नपर्ने उनी बताउँछन् । करिब ३/४ वर्षअघि विदेशका केही ठाउँमा ‘दयारानी’को प्रदर्शन भइसकेको छ । त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले अब निर्देशक गुरुङ घरेलू दर्शकको प्रतिक्रियाको पर्खाइमा छन् ।