मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको दाबी- ‘हात्तीछाप’को कथामा छुट्टै संसार छ’

फिल्मीखबर, काठमाडौं, 2024/02/02

अमेरिकामा फिल्म ‘भूठान’को एक हप्ता लामो छायांकन भ्याएर बुधबार काठमाडौं आइपुगेका अभिनेता दयाहाङ राई शुक्रबारबाट फिल्म ‘मनसरा’को छायांकनमा जोडिएका छन् । बिहीबार भने उनले यही माघ २६ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेका आफ्ना दुईवटा फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’को प्रचारका लागि समय निकालेका थिए । दुवै फिल्मप्रति उनको उत्साह देखिन्थ्यो ।

 

dayahang rai


दयाहाङ ‘हात्तीछाप’ उत्कृष्ट बनेको दाबी गर्छन् । ‘यो फिल्मको मुख्य उद्देश्य त व्यवसायिकता नै हो । तर पनि फिल्मले समाजका विभिन्न यथार्थपरक विषयवस्तुलाई समेट्न खोजेको छ । यो फिल्म उत्कृष्ट बनेको मेरो ठम्याई छ । यसैले पनि म उत्साहित छु,’ उनी सुनिए । फिल्मको कथावस्तु, चरित्र र टिम मन परेर काम गरेको बताउँदै उनले दर्शकलाई फरक स्वाद मिल्ने विश्वास व्यक्त गरे ।

फिल्मले पैसाको कथालाई पनि उठाएको दयाहाङको तर्क छ । ‘यो अहिलेको समयको कथा हो । ठ्याक्कै भन्दाखेरि पैसाको कथा हो । फिल्मको मर्म पनि लगभग यही हो,’ उनी अगाडि भन्छन्, ‘मलाई भोलिका दिनमा पनि ‘हात्तीछाप’ जस्तो फिल्म गरेको थिएँ भनेर गर्व महसुस नै हुन्छ होला । भन्नुको अर्थ म यो फिल्मबाट सन्तुष्ट छु ।’ फिल्मको कथामा छुट्टै संसार रहेको उनको दाबी छ ।

फिल्ममा दयाहाङको जोडीको रुपमा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीले यसको कथावस्तु शक्तिशाली रहेको बताएकी छन् । उनी भन्छिन्, ‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नु हुँदैन जस्तो मलाई लाग्छ । सबै नेपालीले भोगेको एउटा विषयलाई लिएर फिल्म बनाइएको छ । भावनात्मक रुपमा पनि फिल्म एकदमै सशक्त छ ।’

 

dayahang rai and upasana shing thakuri


सिमोस सुनुवारको निर्देशन र किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा दयाहाङ र उपासनाका साथै सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङ, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई लगायतको पनि अभिनय छ । कलाकारको ‘लाइनअप’ बलियो भएकाले फिल्मले घरेलू बक्स अफिसमा सुखद् अंक जोड्ने प्रक्षेपण गरिएको छ ।