तमिल सुपरस्टार थलापति विजय अब राजनीतिमा आएका छन् । त्यसका लागि उनले शुक्रबार आफ्नो पार्टीको घोषणा गरेका छन् । ‘तमिझागा वेत्री कझगम’ नाम राखिएको उनको पार्टी भारतीय निर्वाचन आयोगमा दर्ता भैसकेको छ । सन् २०२६ मा हुने विधान सभामा उनको पार्टीले चुनाव लड्ने समेत घोषणा गरिएको छ । यसै वर्ष हुने लोकसभा चुनावमा भने उनको पार्टी तठस्थ रहनेछ ।
पार्टी घोषणा गर्दै विजयले भनेका छन्, ‘पार्टी ईसीआई (चुनाव आयोग)मा दर्ता भैसकेको छ । पार्टीको सामान्य परिषद् र कार्यकारी समितिले २०२४ को लोकसभा चुनाव नलड्ने र कुनै पनि पार्टीलाई समर्थन नगर्ने निर्णय गरेको छ ।’ उनले राजनीतिलाई आफूले पेशाको रुपमा नलिएको स्पष्ट पार्दै यसलाई ‘पवित्र सेवा’ भनेका छन् । उनको पार्टीको शाब्दिक अर्थ ‘तमिलनाडु विजय पार्टी’ हो ।
त्यसो त विजयले केही वर्ष पहिल्यै राजनीतिमा आउने संकेत गरेका थिए । फ्यान क्लबमार्फत् उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । उनको नाममा यसअघि विजय मक्कल इयक्कम पार्टी समेत खुलेको थियो । त्यो पार्टीमा उनी आबद्ध नहुँदा पनि त्यसले सन् २०२१ मा तमिलनाडुको स्थानीय निकायको चुनावमा ११५ सिट जितेको थियो । यसले पनि तमिल क्षेत्रमा विजयको प्रभाव बोल्छ ।
राजनीतिमा आउने विजय पहिलो दक्षित भारतीय कलाकार भने होइनन् । मुरपोक्कू द्रविड कडगम, एम. जी. रामचन्द्रन, जुनियर एन्टीआरका पिता तथा अभिनेता नन्दमुरी हरिकृष्ण, विजयकान्त, कमल हसन, पवन कल्याण, जयललिता जस्ता कलाकारहरुले राजनीतिमा उपस्थिति जनाइसकेका छन् । विजय भने तमिल क्षेत्रमा रजनीकान्तपछिकै सबैभन्दा प्रभावशाली अभिनेता मानिन्छन् ।