भगवान् शिवकी पहिलो पत्नी सतीदेवीको नाममा फिल्म बनाइसकेका निर्देशक लक्ष्मण सुवेदीले अब शिवकी दोस्रो पत्नी पार्वतीको नाममा पनि फिल्म बनाउने भएका छन् । शुक्रबार आफ्नो जन्मदिनको अवसरमा उनले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्मलाई अर्को वर्षको शिवरात्रीमा प्रदर्शन गरिने भएको छ ।
निर्देशक सुवेदीको लेखन, निर्माण तथा गीत रचना रहने फिल्ममा बाबु-छोरीको सम्बन्धको कथा उठाइने जनाइएको छ । ‘फिल्मले मनोरञ्जन दिनुका साथै नेपाली समाजलाई झकझकाउने र सोच्न बाध्य बनाउनेछ । सामाजिक प्रेमकथालाई पनि फिल्ममा प्रस्तुत गर्नेछौं,’ निर्देशक सुवेदीले भने । आगामी वर्षको जेठबाट छायांकनको तयारी गरिएको फिल्ममा श्रीदेवी सुवेदीको निर्माण रहनेछ ।
दिलासा र सारा सुवेदीको प्रस्तुतिमा बन्न लागेको फिल्ममा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र दिलासा क्रिएसनले सहकार्य गरेका छन् । फिल्मको वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिने फिल्मका लागि कलाकार र प्राविधिक छनोटको काम भइरहेको निर्देशक सुवेदीले बताए । उनी निर्देशित ‘सतीदेवी’ भने प्रदर्शन हुन बाँकी नै छ ।