एउटा कहावत् छ, ‘फिल्ममा छिर्नभन्दा टिक्न बढी मुश्किल हुन्छ ।’ एक त प्रतिस्पर्धाको क्षेत्र, लगभग हरेक नयाँ फिल्मबाट विकल्प जन्मिरहेका छन् । त्यो भीडमा आफूलाई अब्बल सावित गर्नु अनिवार्य सर्त हो । त्यसमाथि फिल्मको व्यावसायिक पाटोले ठूलो अर्थ राख्छ । यी सबै कुराको तारतम्यता मिल्दा मात्र एउटा कलाकारको करिअर सन्तुलित बन्छ । जुन कमैको हकमा यो सम्भव हुन्छ ।
अक्सर फिल्मको असफलताले कलाकारको करिअर संकटमा पुग्ने गरेको देखिन्छ । पहिलो फिल्म ‘इन्टु मिन्टू लण्डनमा’बाट सुखद् डेब्युको अनुभव लिएका धीरज मगरलाई पनि अहिले फिल्मको असफलता भारी परिरहेको छ । डेब्यु फिल्मबाटै नयाँ ‘स्टार’, अझ भनौं अनमोल केसी र प्रदीप खड्काको प्रतिस्पर्धीको रुपमा हेरिएका उनले ‘फ्लप’मा ‘ह्याट्रिक’ गरेसँगै करिअर नै धरमराएको छ ।
पहिलो फिल्मपछि उनले कमब्याकमै लामो समय लगाए । ४ वर्षपछि धीरजको दोस्रो फिल्म ‘बाबरी’ गत वर्ष रिलिज भएको थियो । यद्यपि, कामको हिसाबले उनको यो तेस्रो फिल्म हो । उनले दोस्रो फिल्मको रुपमा काम गरेको ‘ज्याकी : आई एम ट्वान्टीवान’ भने यस वर्ष प्रदर्शनमा आयो । तर, दुवै फिल्मले हलमा घुँडा टेके । यी दुईवटा फिल्मको असफलता उनका लागि अकल्पनीय थियो ।
गत भदौमा धीरजको चौंथो फिल्म ‘एक भागवत् र एक गीता’ पनि प्रदर्शनमा आएको थियो । यसले उनलाई ‘फ्लप’मा ‘ह्याट्रिक’ मात्र गराएन, उनको करिअरकै विर्सनलायक फिल्मको रुपमा चित्रित गरियो । फिल्ममा उनी ‘शोपिस’ मात्र थिए । ४ वर्षपछि लगालग प्रदर्शन भएका तीन फिल्मको असफलताले उनको करिअरलाई ठूलो धक्का पुगेको छ । कतिपयले ‘फ्लप हिरो’ भन्न थालेका छन् ।
नेपाली फिल्ममा चकलेटी हिरोको अभाव भएकाले धीरजलाई फिल्मको भने अभाव छैन । फिल्म ‘पञ्चामृत’ साइन गरेर बसेका उनी यतिबेला नयाँ फिल्म ‘खुस्मा’को छायांकनमा छन् । उनले अर्को एउटा फिल्ममा पनि काम गर्ने वचन दिइसकेको जानकारीमा छ । यसरी हेर्दा उनको मागमा कमी आएको देखिन्न । तर, अब धीरजको करिअरलाई फिल्मको असफलता थेग्न भने गाह्रो पर्न सक्छ ।