दुई-दुईपटक बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभलमा अवार्ड जितेका चाइनिज निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत प्रमुख निर्णायकको रुपमा जोडिएका छन् । महोत्सवका अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन तथा निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिन लागेको जानकारी गराए ।
उनी निर्देशित पछिल्लो फिल्म ‘सङ अफ तिब्बत’ पनि फेस्टिभलमा देखाइने अध्यक्ष पाठकले बताए । बेइजिङ फिल्म एकेडेमीबाट निर्देशनमा स्नातक गरेका फेईले सन् १९९० मा निर्देशन गरेको ‘ब्ल्याक स्नो’ले बर्लिनको दोस्रो ठूलो अवार्ड सिल्भर लाइन जितेको थियो भने सन् १९९३ मा उनले नै निर्देशन गरेको ‘वुमन सिसम ओइलमेकर’ले बर्लिनको मुख्य अवार्ड गोल्डेन बेयर जितेको थियो ।
उमेरले ८० वर्ष पार गरिसकेकी उनले २४ वर्षयता फिल्म निर्देशन गरेका छैनन् । बेइजिङ फिल्म एकेडेमीका पूर्व उपाध्यक्ष समेत रहेका सिए फेई सन् १९८० देखि निरन्तर प्राध्यापनमा संलग्न छन् । निफका लागि उनी फागुन अन्तिममा नेपाल आउने जनाइएको छ । फिचर फिल्मतर्फ निर्णायकमा अभिनेता प्रदीप खड्का पनि छन् । महोत्सव आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा हुँदैछ ।
निफको यो संस्करणमा ४० देशका ८८ वटा फिचर, छोटा तथा वृत्तचित्र प्रदर्शन हुने जनाइएको छ । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सवको क्रममा फिल्म निर्माणका विभिन्न विधामा रहेर कार्यशाला, छलफल र अन्तरक्रिया पनि गरिने जनाइएको छ । महोत्सवमा छानिएका फिल्महरु क्यूएफएक्स अन्तर्गत सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा देखाइनेछ ।