कथावाचन शैलीका गीतमा अब्बल मानिएका नवीन चौहानको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् । ८०/९० को दशकतिर फोटो खिच्ने ट्रेन्डलाई पोस्टरले प्रतिबिम्बित गर्छ । पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् ।
ऊनको स्वीटर लगाएका विपिन हँसमुख भावमा भलाद्मी देखिएका छन् । सर्लक्क कोरिएको कपाल र हल्का जुँगामा उनको लुक्स आकर्षक देखिन्छ । मिरुना भने मगर पहिरनमा छिन् । उनको अगाडिको कपालले निधार छोपेको छ । पोस्टरले विपिन र मिरुना श्रीमान्-श्रीमतीको भूमिकामा हुने संकेत मात्र गर्दैन, अन्तरजातीय प्रेमकथामा आधारित भएर फिल्म बन्न लागेको पनि प्रस्ट्याउँछ ।
आगामी बैशाखबाट छायांकनको तयारी गरिएको फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, एलेक्स विश्वकर्मा (पारस), परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर लगायतको पनि अभिनय रहनेछ । सुजन चापागाईं र कोविद बज्रको संगीत रहने फिल्मलाई चिन्तनराज भण्डारीले खिच्नेछन् भने निर्देशक चौहानको लेखन छ । आर्टमान्डुले फिल्मको निर्माण गर्नेछ ।
निर्देशक चौहानले आर्टमान्डुमार्फत ‘तीनपाते’, ‘घुमीघुमी’, ‘फूलथुंगे रानी’, ‘सुनाखरी’, ‘के माया लाग्छ र’, ‘बटौली’ लगायतका गीतको म्यूजिक भिडियो निर्माण गरिसकेका छन् । विपिनले नवीनको निर्देशनमा ‘बटौली’ र ‘घुमीघुमी’ गरी दुई गीतमा काम गरेका थिए । गत साउनमा फिल्मको घोषणा गर्दै सुजन चापागाईंको स्वरमा शीर्ष गीत रिलिज गरिएको थियो, जसलाई दर्शकले रुचाएका छन् ।