निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने गरिन्छ । एउटा फिल्म प्रदर्शनमा नआउँदै उनले अरु एक/दुईवटा फिल्मको छायांकन भ्याइसकेका हुन्छन् । आगामी फागुन ११ गते फिल्म ‘गोर्खा वारियर’ प्रदर्शनको तयारीमा रहँदा गत मंसिरमा उनले फिल्म ‘अञ्जिला’को छायांकन सकाएका थिए । अब केही महिनाभित्र फिल्म ‘वर एण्ड बधु’को अधुरो छायांकन पूरा गर्ने उनको तयारी छ ।
मिलन प्रायः ‘स्टार’ कलाकारलाई लिएर फिल्म बनाउन रुचाउँछन् । राजेश हमाल, दयाहाङ राई, प्रदीप खड्का, पल शाह, प्रियंका कार्की जस्ता कलाकारलाई उनले निर्देशन गरिसकेका छन् । तर, उनले आफ्नो ड्रिम प्रोजेक्ट मानेको ‘गोर्खा वारियर’मा भने मुख्य नायकमा नयाँ अनुहार लिएका छन् । यो फिल्मबाट रितेश चाम्सले डेब्यु गरेका छन् । बेलायत निवासी उनी पेशाले ‘पाइलट’ हुन् ।
फिल्ममा रितेशलाई लिनुको कारण चरित्रको माग रहेको मिलनको जिकिर छ । उनी भन्छन्, ‘फिल्म हेरेपछि रितेश चाम्स नै चाहिने रहेछ भन्ने प्रष्ट हुन्छ । रितेश जति दुःख गर्ने कलाकार नेपाली फिल्ममा कमै छन् । वार जनराको फिल्ममा एउटा सैनिकको भूमिका एउटा ‘मुभमेन्ट’ले थाहा हुन्छ । बन्दुक बोक्ने शैलीले नै ऊ सैनिक हो या हैन भन्ने बुझिन्छ । त्यसका लागि ‘ट्रेनिङ’ प्राप्त हुनुपर्छ ।’
सैनिकको भूमिकाका लागि ‘ट्रेनिङ’ लिन सक्ने धैर्यता नेपाली नायकमा नरहेको भन्दै मिलनले कटाक्ष गरेका छन् । कति कलाकार सुटिङ भैरहँदा ‘वासरुम’मा गएर हराउने गरेको उनले अनुभव सुनाए । वार जनराको फिल्ममा सबै कलाकारले न्याय गर्न नसक्ने पनि उनको दाबी छ । फिल्मका लागि रितेश एकमात्र रोजाई रहेको र उनको अभिनयबाट आफू प्रभावित भएको चाम्सले बताए ।
फिल्ममा रितेशका साथै विजय लामा, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई आदिको पनि अभिनय रहेको छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा फिल्म आधारित छ । गत हप्ता सार्वजनिक गरिएको ट्रेलरपछि फिल्मको चर्चा चुलिँदो छ ।