एउटा फिल्म प्रदर्शनमा नआउँदै त्यसको सिक्वेल घोषणा गर्ने होडबाजी चलिरहेको समयमा यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को पनि सिक्वेल बन्ने भएको छ । फिल्मको अन्तिममा ‘हात्तीछाप २ : बोतल राजा’ उल्लेख गर्दै सिक्वेल घोषणा गरिएको हो । फिल्ममा अभिनेता सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । सिक्वेल उनीमै केन्द्रित हुने प्रष्ट बुझिन्छ ।
तर, ‘हात्तीछाप’को अन्त्यमा अभिनेता दीपकराज गिरीलाई ‘राजा’ भन्दै प्रस्तुत गरिएको छ । पानीमा हिँड्दै फिल्मी स्टाइलमा उनको प्रवेश ‘सरप्राइजिङ’ छ । केमियो भूमिकामा रहेका उनी ‘छक्का पञ्जा’को ‘राजा’ पात्रको हुलिया र त्यो पात्रले प्रयोग गर्ने बाइकमा देखिएका छन् । यसले ‘हात्तीछाप २’मा उनको पनि अभिनय रहने संकेत गर्छ । यद्यपि, यसबारेमा निर्माण टिमले पुष्टि गरेको छैन ।
प्राप्त जानकारी अनुसार, निर्माता किरण नेपाली ‘हात्तीछाप’लाई ‘यूनिभर्स’को रुपमा अगाडि बढाउने योजनामा छन् । उनले ५ वटा सिक्वेलसम्मको नाम तय गरेर चलचित्र विकास बोर्डमा दर्ता समेत गरिसकेको स्रोतको दाबी छ । त्यसो त उनले आफ्नो अघिल्लो सफल फिल्म ‘दुई नम्बरी’को पनि सिक्वेल निर्माण गर्दैछन् भने आफ्नै निर्देशनमा फिल्म ‘सोली डोली’ बनाउने तयारीमा पनि छन् ।
भूकम्पले उत्पन्न सामाजिक परिस्थिति र अवस्थालाई मियो बनाएर कथावाचन गरिएको ‘हात्तीछाप’मा सौगातका साथै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, कमलमणी नेपाल, भोलाराज सापकोटा, पुस्कर गुरुङ लगायतको अभिनय छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्मले मंगलबार काठमाडौंमा आयोजित प्रिमियरमा सुखद् प्रतिक्रिया पाएको छ ।