‘मिस्टर झोले’ जोडी दयाहाङ राई र दीया पुन अभिनीत फिल्म ‘दयारानी’को नेपालका मल्टीप्लेक्सहरुमा सुखद् शोजसहित अग्रिम बुकिङ खुलेको छ । देशभरका हलमा गरेर ११३ शोज पाएको फिल्मलाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका र मोफसलमा गरी कूल ३६ शोज र दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले १२ शोज उपलब्ध गराएको छ ।
त्यस्तै, वान सिनेमाजले नयाँ बानेश्वर र कालिमाटीमा गरी ९ शोज, एफक्युब र विएसआर मुभिजले ४/४ शोज, कीर्तिपुर सिनेप्लेक्सले २ शोज, बिग मुभिज र रञ्जना सिनेप्लेक्सले ६/६ शोज बाँडेका छन् । यही शुक्रबार (माघ २६ गते)बाट प्रदर्शनमा आउन लागेको ‘दयारानी’लाई अमेरिका र अष्ट्रेलियामा पनि प्रदर्शन गरिँदैछ । यी दुई देशमा फिल्मको ४ सय हाराहारी शोज निश्चित भैसकेको छ ।
फिल्मको ओभरसिज वितरक कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले अमेरिकाका २३ वटा थिएटरमा गरी १ सय ९७ शो र अष्ट्रेलियामा १ सय ८० वटा शो निश्चित भएको दाबी गरेको छ । सेभेन सीजका अनुसार, मध्यपूर्वका देशमा फेब्रुअरी १५ देखि रिलिज हुनेछ भने बेलायत र युरोपेली देशमा फेब्रुअरी १६ बाट रिलिजको तयारी छ । विदेशमा फिल्मले राम्रो कमाई गर्ने सेभेन सीजको विश्वास छ ।
बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को संयुक्त निर्माण रहेको फिल्ममा माओत्से गुरुङको निर्देशन छ । शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, क्रिष्टी गुरुङ, राजेन्द्र थापा, टिकाराम घले, सीतादेवी गुरुङ आदिको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।