नेपाली अभिनेत्रीहरुबीच मेलमिलाप छैन भन्ने कुरा अक्सर सुनिन्छ । प्रतिस्पर्धाको क्षेत्र भएकाले पनि त्यसले सम्बन्धमा प्रभाव पार्नु स्वभाविक हो । तर, स्वस्तिमा खड्का र वर्षा राउतको हकमा केही अलग छ । यस वर्ष प्रदर्शन भएको फिल्म ‘ऐंचो पैंचो’मा दिदी-बहिनीको भूमिकामा काम गरेका उनीहरुबीच राम्रो ‘बोन्डिङ’ बनेको छ । दुवैले एकअर्कालाई साथ र हौसला दिइरहेका हुन्छन् ।
यसैबीच, दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘मेयर’मा वर्षा अनुबन्धित भएपछि स्वस्तिमाले खुसी व्यक्त गरेकी छन् । वर्षाले फेसबुकमा सेअर गरेको फिल्मसम्बन्धी एक पोस्टमा उनले कमेन्ट गर्दै ‘सो ह्याप्पी फर यू’ भनेर लेखेकी छन् । र, वर्षाले लभ इमोजीमार्फत् धन्यवाद व्यक्त गरेकी छन् । वर्षा र स्वस्तिमाको पहिलोपटक फिल्म ‘छक्का पञ्जा २’मा सहकार्य भएको थियो ।
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको राजनीतिक जीवनमा आधारित भएर बन्न लागेको ‘मेयर’मा वर्षाको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिनेछ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् । खगेन्द्रले मेयर थापाको भूमिका निर्वाह गर्नेछन् । आगामी फागुन १५ गतेबाट छायांकन सुरु हुन लागिएको फिल्ममा अर्पण थापाको पनि अभिनय रहनेछ ।