‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को ‘भ्यालेनटाइन विक’को अवसर पारेर फरक भाव र परिस्थिति बोल्ने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत प्रेमिल भावमा चित्रित छन् भने अर्कोमा दिव्य देवको अंगालोमा गौमाया गुरुङ भावुक देखिएकी छन् । फिल्ममा प्रेम र पीडा दुवैको समिश्रण रहेको पोस्टरले संकेत गर्छ ।
निर्देशक प्रदीप भट्टराईले फिल्ममा प्रेमसँगै मित्रता, परिवार र राष्ट्रियताको विषय पनि रहेको बताएका छन् । यसपटक ‘जात्रा’भन्दा माथि उठेर फिल्म बनाएको उनको दाबी छ । उनी फिल्मबारे भन्छन्, ‘महा’ भन्ने वितिक्कै त्यसले ठूलो क्यानभास खोज्छ । ‘जात्रा’ सागर हो भने ‘महाजात्रा’ महासागर हुनुपर्छ भन्ने हिसाबले फिल्म बनाएका छौं । दर्शकलाई फिल्म एकदमै फरक लाग्ने विश्वास छ ।’
‘जात्रा’ सिक्वेलमा पहिलोपटक हाँस्य अभिनेता हरिवंश आचार्य जोडिएका छन् । यसअघि सार्वजनिक पोस्टर हेर्दा उनी नकारात्मक भूमिकामा रहेको बुझ्न सकिन्छ । निर्देशक भट्टराई स्वयंको लेखन रहेको फिल्ममा रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, अरविन खड्का लगायतको पनि अभिनय छ ।
षट्कोण आर्ट्सको निर्माण रहेको ‘महाजात्रा’ आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । ‘जात्रा’को अघिल्ला दुई सिरिज पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । ‘महाजात्रा’मा भने राष्ट्रिय विषय (राजनीति)लाई पनि समेटिएको छ ।