भोलि शुक्रबार (माघ २६ गते)बाट प्रदर्शन हुन लागेको मल्टीस्टारर फिल्म ‘हात्तीछाप’ले स्वदेशी (दयारानी) र विदेशी (तेरी बातों मे ऐसा उल्झा जिया) फिल्मको बावजूद पनि मल्टीप्लेक्सहरुमा सुखद् शोज प्राप्त गरेको छ । फिल्मले देशभरका मल्टिप्लेक्समा गरेर कूल १६४ शोज र सिंगल थिएटर समेत जोड्दा लगभग २ सय शोज पाएको वितरक कम्पनी आरआर फिल्म्सले दाबी गरेको छ ।
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा १५ र मोफसलमा २३ गरी फिल्मलाई पहिलो दिन ३८ शोज उपलब्ध गराएको छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआई सिनेमाजले १५ शोज र वान् सिनेमाजले नयाँ बानेश्वर र कालिमाटीमा गरेर १० शोज प्रदान गरेको छ । अन्य मल्टीप्लेक्सले पनि फिल्मलाई उपलब्ध गराएको शोज संख्या सुखद् देखिन्छ ।
प्राप्त शोजको आधारलाई फिल्मलाई बम्पर ओपनिङको अवसर छ । ‘स्टारकास्ट’ बलियो भएकाले कात्तिक महिनायता सुस्ताएको बजारलाई ‘हात्तीछाप’ले चलायमान बनाउने अपेक्षा गरिएको छ । फिल्मलाई बक्स अफिसमा लामो रेसको घोडा बन्न भने अब्बल ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । मंगलबार काठमाडौंमा भएको प्रिमियरमा फिल्मले सुखद् प्रतिक्रिया प्राप्त गरेको थियो ।
सिमोस सुनुवारको निर्देशन र किरण नेपालीले प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई आदिको अभिनय छ भने अभिनेता दीपकराज गिरी केमियो भूमिकामा छन् । फिल्मले सामाजिक र राजनीतिक परिवेशमा आधारित भएर कथा भनेको छ ।