एउटै कलाकारको फिल्म एउटै मिति भिड्नु आफैंमा दुर्भाग्यपूर्ण हो । यसले फिल्मको व्यापारमा त असर पार्छ नै, कलाकारलाई पनि समस्या खडा हुन्छ । अभिनेता दयाहाङ राईका लागि यतिबेला आफ्नै फिल्मको भिडन्त टाउको दुखाई बनिरहेको छ । गत बैशाख १ गते उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ रिलिज भए । अब दोस्रोपटक उनका आफ्नै फिल्मबीच भिडन्त भएको छ ।
शुक्रबारबाट दयाहाङ अभिनीत दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ले व्यावसायिक प्रदर्शन सुरु गरेका हुन् । दुवै फिल्मको प्रचारमा उनको सक्रियता देखिएन । प्रचारमा दुवै फिल्मलाई एक दिनको समय दिएका उनले प्रिमियरमा भने दुईतिरै उपस्थिति जनाएनन् । फिल्ममा एउटै कलाकार भए पनि कथावस्तुको हिसाबले दुवै फरक छन् । जसले गर्दा दुवैका लक्षित वर्ग पनि फरक हुनसक्छन् ।
सिमोस सुुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुतिमा बनेको ‘हात्तीछाप’मा दयाहाङसँगै सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणी नेपाल, बिजय बराल, पुष्कर गुरुङ, वुद्धि तामाङ, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतको पनि अभिनय छ भने हाँस्य अभिनेता दीपकराज गिरी केमियो भूमिकामा छन् । फिल्ममार्फत् यसको सिक्वेल समेत घोषणा गरिएको छ ।
त्यस्तै, माओत्से गुरुङ निर्देशित ‘दयारानी’मा दयाहाङको जोडी अभिनेत्री दीया पुनसँग बाँधिएको छ । निःसन्तान दम्पतीको कथामा आधारित रहेको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, क्रिष्टी गुरुङ, राजेन्द्र थापा, टिकाराम घले, सीतादेवी गुरुङ आदिको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।