२०७५ सालमा निर्माण भएर विदेशका केही ठाउँमा प्रिमियर समेत भैसकेको फिल्म ‘दयारानी’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । त्यसको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको प्रिमियर राखिएको थियो । फिल्मकर्मीहरुको राम्रो उपस्थिति रहेको प्रिमियरमा फिल्मको कथावस्तुदेखि कलाकारको अभिनयसम्मको प्रशंसा भयो ।
सर्वाधिक प्रशंसा भने फिल्ममा ‘ए होर’ संवाद बोल्ने नयन गुरुङले पाइन् । फिल्म सकिएपछि धेरैको मुखमा यही संवाद झुण्डिएको थियो । प्रिमियरमा उनको खोजी पनि भएको थियो । तर, नयन देशबाहिर भएकाले अनुपस्थित थिइन् । फिल्ममा उनी अभिनेता दयाहाङ राईको सालीको भूमिकामा छिन् । उनले चुलबुले भूमिकामा गरेको अभिनय र ‘ए होर’ संवाद फिल्मको बलियो पक्ष हो ।
प्रिमियरमा उपस्थित भएका नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्व स्वास्थ्यमन्त्री पदम गिरीले फिल्म आफूलाई मनपरेको बताए । उनले भने, ‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिलाई यो फिल्मले बाहिर ल्याउने कोशिस गरेको छ । सन्तान नहुँदा समाजले कति हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा फिल्मले नजिकबाट देखाएको छ ।’
निर्देशक तथा वितरक अशोक शर्माले फिल्म राम्रो बनेको बताउँदै अभिनयबाट निर्देशनमा डेब्यु गरेका माओत्से गुरुङको कामको प्रशंसा गरे । ‘दर्शकलाई एउटा राम्रो सिनेमा दिएकोमा उनलाई धेरै धेरै बधाई छ । कलाकारहरु सबैले राम्रो काम गर्नु भएको छ,’ उनले भने । त्यस्तै, अभिनेता तथा लेखक अभिनेता खगेन्द्र लामिछानेले आफूलाई फिल्म एकदमै रमाइलो लागेको प्रतिक्रिया दिए ।
निर्देशक रेनेशा वान्तवा राईले फिल्मको टिजर र ट्रेलरले वाचा गरेअनुरुपको सिनेमा बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् । ‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो, त्यही किसिमको र त्यति नै राम्रो फिल्म बनेको छ,’ उनले भनिन् । अभिनेत्री प्रियंका कार्कीले मौलिक कथामा यसरी फिल्म निर्माण हुँदा खुसी लाग्ने बताइन् । ‘दयारानी’मा दर्शकले फरकपन पाउने उनको विश्वास छ ।
प्रिमियरमा निर्देशक रामबाबु गुरुङ, अभिनेत्रीहरु केकी अधिकारी, शिल्पा मास्के, अभिनेताहरु दीलिप रायमाझी, निर्मल शर्मा, निर्माता अर्जुन कुमार लगायतको पनि उपस्थिति थियो । फिल्मका मुख्य अभिनेता दयाहाङ राईको भने प्रिमियरमा उपस्थिति थिएन । अभिनेत्री दीया पुन हरियो रंगको कुर्था-सुरुवालमा देखिएकी थिइन् भने अभिनेता विजय बरालले गुरुङ पहिरन लगाएका थिए ।