फिल्म प्रदर्शनको गर्विलो इतिहास बोकेको काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन ।
शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाकालदेखि नै फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यो हलले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणलीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै ।’
कुनै बेला सातवटा हल सञ्चालनमा रहेको गोपीकृष्णको भूकम्पपछि मुख्य संरचना भत्काइएको थियो । र, अर्को भवनमा २ वर्ष अगाडि ‘ओमः’, ‘नमः’ र ‘शिवायः’ गरी तीन हललाई रातो, हरियो र निलो (आरजिबी) रंगको थिममा सञ्चालनमा ल्याइएको थियो । तर, यी हलले गोपीकृष्णको पुरानो क्रेज फर्काउन सकेनन् ।
गोपीकृष्ण हल भएको ठाउँमा अब १४ तलाको भवन बनाइँदैछ, जहाँ पाँचतारे होटलदेखि सपिङ कम्पलेक्ससम्म हुनेछन् । त्यसैको सबैभन्दा माथिल्लो तल्लामा सुविधासम्पन्न हल सञ्चालन गर्ने तयारीमा गोपीकृष्ण समुह छ । तर, अहिलेसम्म भवन निर्माणकै काम सुरु भएको छैन । गोपीकृष्ण मुभिज अन्तर्गतको नारी टीभी (पहिलाको टीभी फिल्मी) भने सञ्चालनमा छ ।
कुनै बेला गोपीकृष्ण हलबाट नेपाली निर्माताले सबैभन्दा धेरै सेयर पाउने गरेका थिए । यही हलको कमाईबाट फिल्म हिट र फ्लप निर्धारण हुन्थ्यो । सातवटा हल सञ्चालनमा रहँदा गोपीकृष्ण कलाकारको क्रेज देखाउने थलो समेत बनेको थियो । अब त्यो एकादेशको कथा जस्तै भएको छ ।