९० को दशकमा आएको फिल्म ‘आशिकी’लाई बलिउडमा लभस्टोरी फिल्ममा एउटा ‘ट्रेन्ड सेटर’ मानिन्छ । र, यो फिल्मबाट ‘स्टार’ बनेका थिए, राहुल रोय । यसमा उनको जोडी अनु अग्रवालसँग बाँधिएको थियो । फिल्म व्यावसायिक रुपमा सफल भएपछि राहुल करिअरको त्यो उचाइँमा पुगे, जुन धेरैका लागि सपना हुने गर्छ । तर, यतिबेला उनै राहुल गुमनामको अवस्थामा ल्याइपुगेका छन् ।
राहुलकी आमा इन्दिरा रोय एक लेखक थिइन् । उनले एक म्यागजिनमा आर्टिकल लेख्ने गरेकी थिइन् । त्यसबेला राहुल ‘मोडलिङ’ गरिरहेका थिए । एक दिन इन्दिरालाई भेट्न ‘आशिकी’का निर्देशक महेश भट्ट उनकै घरमा पुगेका थिए । उनीहरुबीच २० मिनेट कुराकानीको क्रममा महेशको नजर राहुलको एक तस्वीरमा पर्यो । त्यही तस्वीरपछि उनले राहुललाई ‘आशिकी’मा लिएका थिए ।
‘आशिकी’ ब्लकबस्टर भएपछि राहुललाई ६० वटा फिल्म अफर भएको थियो । त्यसमध्ये उनले ४९ वटा फिल्म सम्झौता गरे । धेरै फिल्म सम्झौता गरेका कारण समय व्यवस्थापन गर्न नसक्दा पछि उनले २१ वटा फिल्मका निर्मातालाई पारिश्रमिक फिर्ता गरेका थिए । ‘आशिकी’पछि उनको ‘सपने साजन के’ फिल्म हिट भयो । त्यसपछि भने उनले कहिल्यै फिल्मको सफलता देख्न पाएनन् ।
राहुललाई अफर भएको ६० वटा फिल्मध्ये एउटा यस्तो थियो, जसले बलिउडमा नयाँ ‘सुपरस्टार’ जन्मायो । त्यो फिल्म थियो, ‘डर’ । जसमा शाहरुख खानले काम गरेका थिए । यसपछि बलिउडमा शाहरुखको राज सुरु भयो र राहुलको करिअर संकटमा पुग्यो । यतिबेला उनी कामविहीन छन् । उनीसँग आफ्नै उपचार गर्न समेत पैसा छैन । अहिले उनी निर्माताहरुसँग काम मागिरहेका छन् ।