मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दुई दिन कस्तो चल्यो ‘हात्तीछाप’ र ‘दयारानी’ ?

फिल्मीखबर, काठमाडौं, 2024/02/11

गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’पछि नेपाली फिल्मको व्यापार डामाडोल भएको थियो । बलिउड र साउथ फिल्मले नेपालमा करोडौं कमाउँदा घरेलू फिल्म भने एक हप्ता पनि हलमा टिक्न सकेका थिएनन् । जसले गर्दा बक्स अफिसलाई चलायमान बनाउन आशातित फिल्मको प्रतिक्षा भइरहेको थियो । त्यसमध्ये ‘हात्तीछाप’ र ‘दयारानी’प्रति धेरैको ठूलो अपेक्षा थियो ।

शुक्रबारबाट प्रदर्शनमा आएका यी दुई फिल्ममा कलाकारको ‘लाइनअप’ बलियो भएकाले सुरुवाती व्यापार सुखद् हुनसक्ने प्रक्षेपण गरिएको थियो । तर, दुवै फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको छैन । यद्यपि, ‘दयारानी’ले केही आशा जगाएको छ । शुक्रबार पोखरासहित केही ठूला सहरहरुमा ५० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार पनि त्यसलाई घट्न दिएन ।

विशेषगरी दुई दिन पोखरामा फिल्मको अकुपेन्सी उच्च रह्यो । यसको पछाडि दुईवटा कारण छन् । पहिलो, ‘दयारानी’का निर्देशक माओत्से गुरुङ पोखराका हुन् । त्यहाँ उनको ठूलो नाम छ । उनको नामैले पनि हलमा दर्शक तानेको छ । दोस्रो, फिल्मले गुरुङ समुदायको कथा उठाएको छ र पोखरामा त्यही समुदायको घनत्व छ । यिनै कारणले पोखरामा फिल्मको व्यापार सुखद् देखियो ।

 

dayahang rai movie


पोखराको मिड टाउन सिनेमाजले ‘दयारानी’लाई शुक्रबार र शनिबार ७/७ शो दिएको थियो । र, सबै शो हाउसफुल भएका थिए । आइतबार पनि मिड टाउनले फिल्मलाई ७ शो नै उपलब्ध गराएको छ । त्यस्तै, पूर्वका दमक, विर्तामोड, इटहरीका हलमा पनि दुई दिन फिल्मको व्यापार सुखद् रहेको थियो । काठमाडौं उपत्यकाका हलमा भने फिल्मप्रति दर्शकको ‘क्रेज’ सामान्य देखिएको छ ।

त्यस्तै, ‘हात्तीछाप’को शुक्रबारभन्दा शनिबारे व्यापार सुधारउन्मुख देखियो । एकातिर सार्वजनिक विदा र अर्कोतिर सोनाम ल्होसार परेकाले हलमा दर्शकको चाप सुखद् थियो । शनिबार अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता बुद्धि तामाङ दर्शकको प्रतिक्रिया बुझ्न चाबहिलस्थित एफक्यूब हल पुगेका थिए । त्यहाँ अधिकांशले फिल्मको प्रशंसा गर्दै सिक्वेल चाँडै ल्याउन आग्रह गरेका थिए ।

आइतबारबाट ‘हात्तीछाप’ र ‘दयारानी’को वास्तविक परीक्षा सुरु भएको छ । हलमा लामो रेसको घोडा बन्न दुवै फिल्मलाई सशक्त ‘वर्ड अफ माउथ’को आवश्यकता पर्नेछ । अर्थात् अब कन्टेन्ट बोल्नुपर्ने हुन्छ । तर, दुवै फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया प्राप्त भएकाले व्यापारमा उछाल कायम गर्न चुनौतीपूर्ण देखिन्छ । यद्यपि, दुवै फिल्मका निर्माता व्यापार बढ्नेमा आशावादी छन् ।