बलिउड सुपरस्टार आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ सन् २०२२ मा रिलिज भएको थियो । हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेकको रुपमा निर्माण भएको यो फिल्मप्रति उनलाई ठूलो अपेक्षा थियो । तर, फिल्मले भारतमा सय करोड पनि कमाएन । यो फिल्म असफल हुँदा आमिरलाई गहिरो प्रभाव परेको उनकी पूर्व श्रीमती तथा निर्मात्री किरण रावले बताएकी छन् ।
उनले भनेकी छन्, ‘जब कुनै पनि कुरामा तपाईं हरसम्भव कोशिश गर्नुहुन्छ तर त्यसले काम गर्दैन भने त्यो वास्तवमै निराशाजनक हुन्छ । ‘लाल सिंह चड्ढा’को हकमा यही भयो । यसले आमिरलाई गहिरो प्रभाव पार्यो । हामी सबै प्रभावित भएका थियौं । किनकि, हामीले यसको विभिन्न चरण पार गरेका थियौं । कोभिडको समयमा समेत काम गरेका थियौं । यो आमिरको ड्रिम प्रोजेक्ट थियो ।’
‘फरेस्ट गम्प’को राइट्स लिन मात्र आमिरले एक दशक खर्चिएको किरणले स्मरण गरेकी छन् । ‘लाल सिंह चड्ढा’की निर्मात्री समेत रहेकी उनले ओटीटी प्लेटफर्म (नेटफ्लिक्स)मा फिल्म रिलिज भएपछि मिलेको सकारात्मक प्रतिक्रियाबाट भने आफू खुसी रहेको बताएकी छन् । ‘हामीले यो कुरा स्वीकार गर्नुपर्छ कि दर्शकलाई फिल्म मन परेन वा यस्तो फिल्म हेर्न चाहेनन्,’ उनले भनेकी छन् ।
उनले आमिरको काम गर्ने शैलीको पनि प्रशंसा गरेकी छन् । आमिरलाई क्रियटिभ एनिमलको संज्ञा दिँदै उनी भन्छिन्, ‘आमिर एक क्रिएटिभ एनिमल हुन् । उनी मनदेखि एकदमै क्रियटिभ व्यक्ति हुन् र जे काम गर्छन् त्यो पूर्णताका साथ गर्छन् । यो उनको डीएनए हो ।’ आमिर र किरणले ३ वर्षअघि १५ वर्ष लामो वैवाहिक जीवनबाट अलग हुने निर्णय गरेका थिए । उनीहरुका एक छोरा छन् ।