मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘दयारानी’ले तीन दिनमा १ करोड २५ लाख कमाएको वितरकको दाबी

फिल्मीखबर, काठमाडौं, 2024/02/12

dayarani movie

 

गत कात्तिकयता सुस्ताएको नेपाली फिल्मको बजारलाई यही शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले केही हदसम्म राहत दिलाएको छ । शुक्रबार र शनिबार सुखद् व्यापार गरेको फिल्मले तीन दिनमा १ करोड २५ लाख कमाएको वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले जानकारी गराएका छन् । चलचित्र विकास बोर्डले फिल्मको कमाई सार्वजनिक गर्न छाडेकाले अहिले वितरक र निर्माताले उपलब्ध गराएको आँकडालाई नै आधार मान्नुपर्ने अवस्था छ ।

प्रचण्डमानका अनुसार, फिल्मको व्यापार काठमाडौं उपत्यकाभन्दा मोफसलमा बलियो छ । विशेषगरी फिल्मको कमाईमा पोखराको ठूलो योगदान छ । फिल्मका निर्देशक माओत्से गुरुङ पोखरा निवासी भएकाले त्यहाँका स्थानीय हलमा फिल्मले हरेक दिन उल्लेख्य दर्शक पाइरहेको छ । पोखराको मिडटाउन सिनेमाजले मंगलबारका लागि मात्र फिल्मलाई ६ शो उपलब्ध गराएको छ । यसले पनि पोखरामा फिल्मको क्रेज दर्शाउँछ ।

वितरक श्रेष्ठले सोमबार समेत पोखरासहितका केही हलहरुमा दर्शकको चाप सुखद् रहेको दाबी गरेका छन् । ‘माउथ पब्लिसिटी’ बलियो रहेकाले आगामी दिनमा पनि व्यापार स्थिर रहने उनको विश्वास छ । फिल्मले गुरुङ समुदायको कथा उठाएकाले हलमा पनि यही समुदायका दर्शकको उपस्थिति बढी छ । फिल्मको व्यापार राम्रो भएपछि निर्देशक गुरुङले खुसी व्यक्त गरेका छन् ।

फिल्ममा दयाहाङ राई, दीया पुन, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल लगायतको अभिनय छ । निःसन्तान दम्पतीको कथामा आधारित रहेको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्ममा ‘ए हो र’ संवाद बोल्ने नयनको कामलाई दर्शकले विशेष रुचाएका छन् । प्रिमियरमा पनि उनकै प्रशंसा भएको थियो ।