मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘काँडेतार’मा सीमा अतिक्रमणको कथा, ट्रेलरमा नवलको एक्सन

फिल्मीखबर, काठमाडौं, 2024/02/13

 

नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्छ भन्ने अभियान बोकेको फिल्म ‘काँडेतार’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । माओवादी निकट मानिने अभिनेता नवल खड्काले ‘जनयुद्ध दिवस’को अवसर पारेर सार्वजनिक गरेको साढे २ मिनेट लम्बाईको ट्रेलरमा सीमा अतिक्रमणको विषयलाई उठाइएको छ । ट्रेलरमा नवल हाबी छन् । उनको ‘एक्सन सिक्वेन्स’ प्रभावशाली देखिन्छ ।

ट्रेलर रिलिज कार्यक्रममा आक्रोशित देखिएका नवलले फिल्ममा उठाएको विषयकै कारण आफ्नो ज्यान जोखिममा रहेको बताए । उनले भने, ‘अहिले मलाई ज्यान बचाउन गाह्रो भइरहेको छ । म त्यो स्थितिमा हिँडिरहेको छु । च्यारेटी गर्न लाग्दा वीरगञ्जमा फिल्म चल्न दिइएन ।’ उनले नेपाल र भारतको सीमामा काँडेतार लगाउन फिल्मको नाफाको २५ प्रतिशत दिने पनि घोषणा गरेका छन् ।

फिल्मले उठाएको विषय अब राष्ट्रिय अभियान बन्ने नवलको दाबी छ । ‘फिल्म प्रदर्शन भएपछि सीमामा काँडेतार लगाउनुपर्ने विषय राष्ट्रिय अभियानको रुपमा सुरु हुन्छ । संसद्, प्रदेश र स्थानीय सबै तह बोल्नेछन् । र, जनताबाट नै सीमामा काँडेतार लगाउनुपर्छ भन्ने कुराको उद्घोष हुनेछ,’ उनले भने । उनले ‘काँडेतार’ विशेष फिल्म रहेकाले सोलो रिलिज हुनुपर्ने जिकिर समेत गरेका छन् ।

नवल स्वयंको निर्देशन रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी लगायतको पनि अभिनय छ । यही फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा कविराज गहतराजले कोरियोग्राफी छ ।