मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रणय दिवस : यी कलाकार, जसले प्रेमलाई विवाहमा बदले

फिल्मीखबर, काठमाडौं, 2024/02/14

आज १४ फेब्रुअरी अर्थात् प्रेम दिवस (भ्यालेन्टाइन्स डे) । प्रेम जोडीहरुका लागि यो दिन एकदमै विशेष मानिन्छ । एकअर्कामा प्रेम साटासाट गर्ने वा आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने उपयुक्त दिनको रुपमा प्रेम दिवसलाई लिइन्छ । सेलिब्रेटीहरुले पनि यसलाई विशेष महत्त्व दिने गरेको पाइन्छ । कतिले भ्यालेन्टाइन्स डेमै प्रेम प्रस्ताव राखेर विवाहसम्मको यात्रा तय गरेका छन् ।

प्रेमलाई विवाहमा परिणत गर्ने नेपाली कलाकारहरुको सूची लामो छ । अभिनेता राजेश हमालले १० वर्ष लामो प्रेम सम्बन्धपछि मधु भट्टराईसँग विवाह गरेका थिए । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेल पनि प्रेमलाई विवाहमा बदल्ने फिल्मी जोडीमा पर्छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले पनि प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

 

nepali artist


अभिनेता आर्यन सिग्देलले भने आफ्नै ‘डाइहार्ट फ्यान’ सपना भण्डारीसँग प्रेम विवाह गरेका हुन् । त्यस्तै, अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको पनि प्रेम विवाह भएको हो । फिल्म ‘कथा काठमाण्डू’को सेटमा उनीहरुबीच प्रेम अंकुराएको थियो । अभिनेत्री सुरक्षा पन्तले पनि संगीतकार माधव सुवेदीसँगको प्रेम सम्बन्धलाई अघिल्लो वर्ष विवाहमा परिणत गरेकी थिइन् ।

प्रेम सम्बन्धलाई विवाहमा बदल्ने फिल्मी जोडीमा वर्षा राउत र संजोग कोइराला पनि पर्छन् । करिब १० वर्ष लामो प्रेम सम्बन्धपछि उनीहरुले २०७५ सालमा विवाह गरेका थिए । अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको पनि ४ वर्ष लामो प्रेम सम्बन्धपछि विवाह भएको थियो । अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराईले पनि प्रेम विवाह गरेका थिए ।

प्रेमलाई विवाहमा परिणत गरेका फिल्मी जोडीहरुमा अभिनेत्री करिश्मा मानन्धर र निर्माता विनोद मानन्धर, अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मिला मल्ल, निर्माता सुनिल कुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापा, निर्देशक ऋषि लामिछाने र अभिनेत्री सरिता लामिछाने लगायत पनि पर्छन् । सरसर्ती हेर्दा प्रायः कलाकारहरुले आफ्नै क्षेत्रका व्यक्तिलाई जीवनसाथी बनाएको देखिन्छ ।

केही कलाकारहरु भने चाँडै प्रेमलाई विवाहमा परिणत गर्ने योजनामा छन् । अभिनेत्री पूजा शर्मा आगामी वर्ष प्रेमी युद्ध बानियाँसँग विवाह गर्दैछिन् । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह पनि आगामी वर्ष विवाह बन्धनमा बाँधिन सक्नेछन् । त्यस्तै, अभिनेता सलिनमान बनियाँ पनि प्रेमिका अप्रिना श्रेष्ठसँग बिहे गर्ने योजनामा छन् । केही कलाकारहरु भने गुपचुप प्रेममा रमाइरहेका छन् ।