मोडल नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं र धरानमा २५ दिन खिचेपछि मंगलबार फिल्म ‘प्याकअप’ भएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले जानकारी गराए । नीतिको भागको छायांकन भने एक हप्ताअघि नै सकिएको थियो । उनले यसअघि सम्झौता गरेका चारवटा फिल्ममध्ये कुनै पनि निर्माण नभएपछि ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी हुन् ।
फिल्ममा नीतिको जोडी अभिनेता रेअर राईसँग बाँधिएको छ भने महेश त्रिपाठी, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, नविन मानन्धर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि विशेष भूमिकामा छन् । फिल्मलाई सुरज सुनुवारले निर्देशन गरेका हुन् ।
पारिवारिक व्यङ्ग्यात्मक कथामा आधारित रहेको फिल्मका निर्माता सुरज सुनुवार र नवीन मानन्धर हुन् भने सह-निर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर छन् । शिशिर बिसंखेको छायांकन रहेको फिल्मको गीतमा अनमोल गुरुङको संगीत छ । फिल्मलाई अर्को वर्षको जेठ महिनामा रिलिज गर्ने योजनामा निर्माण टिम छ । नीतिको डेब्यू फिल्म भएकाले ‘खजुरे ब्रो’प्रति धेरैको चासो छ ।