हाँस्य टेलिसिरियलमा सफल मानिएको ‘सक्किगोनि’को टिमले अब फिल्म निर्माण गर्ने भएको छ । फिल्मको शीर्षक ‘लाज शरणम्’ राखिएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर एक थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरिएको हो । शीर्षकले नै फिल्म कमेडी कथावस्तुमा निर्माण हुन लागेको बुझाउँछ । फिल्मलाई यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको जानकारी प्राप्त छ ।
‘सक्किगोनि’कै दुई मुख्य पात्र कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को समुहले फिल्मलाई निर्देशन गर्ने पोस्टरमा उल्लेख छ । कलाकारको बारेमा भने कुनै जानकारी गराइएको छैन । स्रोतका अनुसार, कुमार र अर्जुन नै फिल्मको मुख्य भूमिकामा हुनेछन् । सिरियलका अरु कलाकारहरु कमलमणी नेपाल, दीपक आचार्य, सागर लम्साल, हरिश निरौलाको पनि अभिनय रहने चर्चा छ ।
कुमारसहितको टिम स्क्रिप्ट लेखनका लागि केही दिनअघि धादिङस्थित नौबिसे पुगेको थियो । फिल्मलाई २०८१ सालमा प्रदर्शनको योजना बनाइएको छ । यसअघि कुमारसहितको टिम ‘फनफनी’ नाममा फिल्म बनाउने तयारीमा थियो । निर्देशकमा निश्चल बस्नेत र मुख्य अभिनेतामा विपिन कार्की समेत अनुबन्ध भइसकेका थिए । तर पछि निश्चलले हात झिकेपछि फिल्म नै निर्माण हुन सकेन ।
सिरियल हुँदै फिल्म निर्माणमा होमिनेको संख्या बढिरहेको छ । यसको सुरुवात दीपकराज गिरी र दीपाश्री निरौलाबाट भएको थियो । फिल्म निर्माणमा उनीहरुको लोभलाग्दो सफलतापछि सिरियलमा स्थापित अरु कलाकारहरुले पनि फिल्म बनाएका छन् । तर, दीपक-दीपा समुहलाई मात्र फिल्म फापेको देखिन्छ । अब ‘सक्किगोनि’ सिरियलको टिमले पनि फिल्म निर्माणमा परीक्षा दिँदैछ ।