अभिनेत्री पूजा शर्मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत हुन लागेको फिल्म ‘दान्भी’को नेपालपछि भारतको कालिम्पोङमा तेस्रो चरणको छायांकन भैरहेको छ । फिल्मको पहिलो हाफको दृश्य छायांकनका लागि निर्माण टिम कालिम्पोङ पुगेको हो । निर्देशक रुपेश तामाङका अनुसार, अहिले एक्सन र रोमान्टिक सिनको छायांकन भैरहेको छ । फिल्मको छायांकन अझै एक हप्ता हुनेछ ।
फिल्मको छायांकनमा पूजासहित अभिनेता कुन्साङ बोमजोम सहभागी छन् । छायांकन सेटबाट प्राप्त एक तस्वीरमा पूजा ‘किक’ हानेको अवस्थामा देखिएकी छन् । कालिम्पोङमा छायांकन गर्न जानुअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो, जसमा पूजा दमदार शैलीको एक्सनमा प्रस्तुत भएकी थिइन् । पहिलोपटक एक्सन भूमिकामा काम गरेकाले उनमा डर र उत्साह दुवै देखिन्छ ।
फिल्ममा पूजा र कुन्साङका साथै ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यू गरेका किरण श्रेष्ठको पनि अभिनय छ । देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह निर्माताको रुपमा छन् । फिल्मको सम्पूर्ण छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गर्ने योजनामा निर्माण टिम छ ।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मुख्य सहायक निर्देशकमा नवराज शर्मा छन् । पूजाको करिअरका लागि ‘दान्भी’ विशेष मानिएको छ ।