मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीपेन्द्र डेढ वर्षका लागि ‘प्याक’, लाइनअपमा ६ फिल्म

फिल्मीखबर, काठमाडौं, 2024/02/15

यस वर्ष फिल्म रिलिजमा कमी आएको छ । वर्षभरि ५० हाराहारी फिल्म पनि रिलिज हुने सम्भावना देखिएको छैन । तर, आगामी वर्ष यो संख्या बढ्ने देखिन्छ । किनकि, तिहारयता फिल्म निर्माण बढेको छ । अहिले डेढ दर्जन बढी फिल्म छायांकनको तयारीमा छन् भने त्यतिक्कै संख्यामा रिलिज कुरेर बसेका छन् । फिल्म निर्माण बढेपछि कलाकार र निर्देशकको व्यस्तता पनि बढेको छ ।

‘पशुपति प्रसाद’ निर्देशक दीपेन्द्र के. खनालको पाइपलाइनमा मात्र यतिबेला ६ वटा फिल्म छन् । अर्थात् अबको डेढ वर्षका लागि उनी ‘प्याक’ भैसकेका छन् । यही फागुन १२ गतेबाट उनले फिल्म ‘मेयर’को छायांकन सुरु गर्दैछन् । सर्लाही जिल्लास्थित बागमती नगरपालिकाका विवादित मेयरको रुपमा कहलिएका भरत कुमार थापाको जीवन संघर्षमा केन्द्रित भएर यो फिल्म निर्माण हुँदैछ ।

 

Dipendra Kumar Khanal


‘मेयर’पछि दीपेन्द्रले आगामी वर्षको तिहारमा रिलिज हुन लागेको फिल्म ‘के घर के डेरा २’लाई समय दिनुपर्नेछ । यसको अघिल्लो श्रृंखलालाई पनि उनले नै निर्देशन गरेका थिए । यसपछि उनले फिल्म ‘आमा २’को काम अगाडि बढाउने सक्नेछन् । यद्यपि, उनले यो फिल्म बनाउन हतार गरेका छैनन् । अघिल्लो श्रृंखलाले राम्रो तारिफ पाएकाले सिक्वेल निर्माणमा उनलाई ठूलो चुनौती देखिन्छ ।

दीपेन्द्रको लाइनअपमा ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल पनि छ । सम्भवतः यो फिल्मको छायांकन उनले आगामी वर्षको दशैंपछि सुरु गर्न सक्नेछन् । ‘पशुपति प्रसाद ३’भन्दा अगाडि उनले अभिनेता खगेन्द्र लामिछानेसँग मिलेर अर्को एउटा फिल्म बनाउँदैछन् । त्यस्तै, उनको ‘पाइपलाइन’मा फिल्म ‘चङ्गा चेट २’ पनि छ । यसरी हेर्दा दीपेन्द्रले सिक्वेल फिल्ममा बढी जोड दिइरहेको देखिन्छ ।

निर्देशक खनालको व्यस्तता मात्र होइन, पारिश्रमिक पनि बढेको छ । अहिले उनले बाहिरी ब्यानरको फिल्म निर्देशन गरेबापत ३५ लाखसम्म पारिश्रमिक लिने गरेको चर्चा छ । र, उनीप्रतिको विश्वासमा निर्माताहरुले करोडौं लगानी गरिरहेका छन् । तर, दीपेन्द्रले ‘पशुपति प्रसाद’पछि ‘मास्टरपिस’ फिल्म दिन सकेका छैनन् । यद्यपि, निर्देशकको नाममा नै फिल्म बिक्नेमध्येमा उनी पनि पर्छन् ।