गत वर्षको सफल फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ३ मिनेटको ट्रेलरमा प्रेम, रोदन, खुसी, पीडा र कमेडीको समिश्रण छ । विशेषगरी पारिवारिक कथालाई ट्रेलरले भन्न खोजेको देखिन्छ । महानगरपालिकाले अनाधिकृत संरचना भत्काएको दृश्यबाट सुरु भएको ट्रेलर घर-झगडामा पुगेर टुंगिएको छ ।
ट्रेलरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छन् । र, ट्याक्सी ड्राइभर बनेका मुकुन भुषालसँग उनको प्रेम अंकुराएको छ । अभिनेत्री पूजा शर्मा भने चुलबुले चरित्रमा देखिएकी छन् । अर्की अभिनेत्री बेनिशा हमाल वकिलको भूमिकामा छन् । कमेडी संवाद हाबी रहेको ट्रेलरमा अभिनेत्री सुष्मा कार्कीलाई चट्नीको रुपमा प्रस्तुत गरिएको छ । समग्रमा ट्रेलर ‘इन्गेजिङ’ बनेको छ ।
यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जन लगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।
अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सास्वत श्रेष्ठको ब्याग्राउन्ड स्कोर तथा मित्र डि गुरुङको सम्पादन छ । यो फिल्मबाट रेखा ५ वर्षपछि अभिनयमा फर्किएकी हुन् । उनले अहिले बनिरहेका फिल्मभन्दा ‘उपहार’ उत्कृष्ट रहेको दाबी गरेकी छन् । फिल्मले दर्शकको मन तृप्त बनाउने उनको विश्वास छ ।