फिल्म कन्टेन्टले चल्छ कि स्टारले ? यो विषयमा हरेकको आ-आफ्नै तर्क र परिभाषा हुनसक्छ । तर, वास्तविक यथार्थ के हो भने फिल्म चल्ने मुख्य आधार कन्टेन्ट नै हो । ‘स्टार’ भनिने कलाकारले काम गरेका फिल्म कन्टेन्टमा चुक्दा बक्स अफिसमा असफल भएका कयैन् उदाहरण छन् । कलाकारहरुको भीड थुपारेर मात्र फिल्म चल्दैन भन्ने अर्को एउटा उदाहरण बनेको छ, ‘हात्तीछाप’ ।
अघिल्लो शुक्रबारबाट प्रदर्शन भएको फिल्ममा हिट जोडीको केमेस्ट्री छ । अर्थात् दयाहाङ राई र सौगात मल्ल केन्द्रीय भूमिकामा छन् । बेनिशा हमाल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल जस्ता कलाकारको पनि अभिनय छ । फिल्म चलाउनका लागि अभिनेता दीपकराज गिरीलाई समेत ‘राजा’ भन्दै केमियोमा खेलाइएको छ । तर, ‘राजा’ले पनि फिल्मलाई बचाउन सकेनन् ।
त्यसो त फिल्ममा दीपकराजको प्रवेश नै अर्थपूर्ण छैन । उनलाई कथा र घटनाक्रम केहीले पनि मागेको छैन । सिर्फ उनलाई फिल्म चलाउनका लागि डमीको रुपमा मात्र प्रयोग गरिएको देखिन्छ । उनको जम्माजम्मी ३० सेकेण्डको दृश्य छ । उनको ईन्ट्री ‘छक्का पञ्जा’को ‘राजा’ पात्रको शैलीमा छ । उनको नामले पनि फिल्म चल्छ भन्ने आशा निर्मातामा देखिन्थ्यो । तर, त्यस्तो चमत्कार भएन ।
केमियो भूमिका मात्रै भए पनि ‘हात्तीछाप’ असफलताको ‘जस’ दीपकराजलाई पनि जान्छ । किनभने, उनी जोडिनु भनेको आफैंमा विशेष हो । उनलाई हेर्नकै लागि भए पनि हल पुग्ने दर्शक छन् । भलै ‘हात्तीछाप’मा त्यो देखिएन । जसले गर्दा उनको स्टारडममाथि समेत प्रश्न उठेको छ । बक्स अफिसका ‘राजा’ मानिने दीपकराजलाई अब कुनै फिल्ममा केमियो गर्नुअघि सोच्नुपर्ने बनाएका छन् ।
त्यसो त ‘हात्तीछाप’ आफैंमा कमजोर धरातलमा बनेको फिल्म हो । दृश्यभाषा नै विश्वसनीय र स्वभाविक तरिकाले निर्माण गरिएको छैन । पात्रको चरित्र निर्माणमा उस्तै समस्या देखिन्छ । फितलो लेखन र प्रस्तुति पनि फिल्मको कमजोर कडी हो । ‘क्लिसे’ संवाद र दृश्यबाट पनि फिल्म मुक्त छैन । जसले गर्दा ‘स्टार’ कहलिएका कलाकारहरु हुँदा पनि ‘हात्तीछाप’ असफल हुनबाट बच्न सकेन ।