करिब एक वर्ष अगाडि बेलायतमा फिल्म ‘लण्डन टू पेरिस’को छायांकन गरिएको थियो । २० प्रतिशत पेरिसको दृश्य बाँकी राखेर निर्माण टिम काठमाडौंमा फर्किएको थियो । तर पछि विभिन्न कारणले पेरिसमा छायांकन गर्न सम्भव नभएपछि निर्माण टिमले यसै साता मुम्बईको एक स्टुडियोमा रहेको पेरिसको सेटमा फिल्म खिचेको छ । योसँगै अब फिल्मको सम्पूर्ण छायांकन सकिएको छ ।
निर्देशक घनश्याम लामिछानेले छायांकन सकिएसँगै मुम्बईमै सम्पादनको काम भैरहेको जानकारी गराएका छन् । उनका अनुसार, एउटा गीतको आधा अंश र केही दृश्य खिच्न बाँकी थियो । आफ्नो छायांकन सकाएर फिल्मकी अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता निश्चल खड्का नेपाल फर्किसकेका छन् । फिल्मको सम्पादन सकिएपछि प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ ।
‘ढिला गरी भए पनि राम्रोसँग छायांकन सकिएकाले म खुसी छु । कहिलेकाहीँ फिल्म ढिला हुँदाखेरि रोकिने वा नबन्ने समेत अवस्था आउँछ । यद्यपि, हामीले फिल्म पूरा गरेका छौं,’ निर्देशक लामिछानेले भने, ‘फिल्म राम्रो बनेकोले दर्शकलाई मनपर्छ भन्नेमा विश्वस्त छु ।’ फिल्मको बेलायतमा खिचेको भागको डबिङ र कलरको काम भैसकेको छ भने मिक्सिङ र भिएफएक्सको काम बाँकी छ ।
गरिमा शर्मा र कबीर खड्काको पनि अभिनय रहेको फिल्म ‘ट्राभल लभस्टोरी’ कथामा बनेको जनाइएको छ । गरिमा र निश्चलको यो डेब्यू फिल्म हो । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजको लेखन छ । फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम र सनिश खकुरेल रहेका छन् भने सह-निर्मातामा अजित सिंह छन् ।