हिटमा ‘ह्याट्रिक’ जोडी दयाहाङ राई र मिरुना मगरको व्यस्तता चुलिँदो छ । लगातार तीन फिल्म ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ सफल भएपछि उनीहरुले एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । दशैंअघि ‘रङ्गेली’ र गत साता निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकिए लगत्तै उनीहरुले यही शनिबारबाट नयाँ फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु गरेका छन् ।
रुकुम पूर्वको लुगुम गाउँबाट फिल्मको छायांकन सुरु गरिएको हो । अनिल बुढा मगरले निर्देशनको जिम्मेवारी सम्हालेको फिल्मको ३५ दिनको सेड्युलमा रुकुम पूर्वको लुगुम, तकसेरा, ढोरपाटन क्षेत्रमा छायांकन हुने निर्माता जनक घर्ती मगरले जानकारी गराए । यस फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, कविता आले लगायतको पनि अभिनय रहनेछ ।
जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले सघाएका छन् । सुसन प्रजापतिले छायांकन गरिरहेको फिल्मलाई आगामी वर्षको असार २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्म मगर संस्कृतिसँग नजिक रहेर सामाजिक कथामा निर्माण हुने जनाइएको छ ।