अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धीरज मगरको एकपटक फेरि फिल्ममा जोडी बाँधिने भएको छ । नयाँ फिल्म ‘रुमानी रंग’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । बिहीबार फिल्मको निर्माण घोषणा गरिँदैछ । ‘इन्टु मिन्टु लण्डनमा’पछि केही मेकरहरुले यो जोडीलाई दोहोर्याउन खोजेको भए पनि सम्भव हुन सकेको थिएन । अब दोस्रोपटक उनीहरु एकसाथ देखिँदैछन् ।
‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशनमा बन्न लागेको ‘रुमानी रंग’मा पहिला अभिनेता आर्यन अधिकारीको मुख्य भूमिका रहने जनाइएको थियो । तर, अब उनी फिल्ममा नरहने स्रोत बताउँछ । फिल्मलाई हरि मल्ल ठकुरी र जिएम ठकुरीले निर्माण गर्नेछन् । फिल्ममा हरि मल्ल स्वयंको कथा र निर्देशक योञ्जनको पटकथा तथा संवाद छ । फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिनेछ ।
साम्राज्ञीले गत साता मात्र फिल्म ‘लण्डन टू पेरिस’को छायांकन पूरा गरेकी छन् भने धीरजले हालै फिल्म ‘खुस्मा’को पहिलो चरणको छायांकन सकाएका छन् । योसँगै उनको पाइपलाइनमा निर्देशक मुस्कान ढकालको फिल्म ‘पञ्चामृत’ पनि छ । तर, यो फिल्मको निर्माण नै अन्योल छ । लभस्टोरी कथावस्तुमा बन्न लागेको ‘रुमानी रंग’को भने आगामी चैतबाट छायांकन सुरु हुने जनाइएको छ ।