मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारियर’ले सार्वजनिक प्रदर्शनभन्दा अगावै एउटा गर्विलो इतिहास रचिसकेको छ । यस वर्षको भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित मानिने ‘आइम्याक्स सिनेवर्ल्ड’मा फिल्मको प्रिमियर गरिएको थियो । यो हलमा प्रिमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो । त्यसबेला ब्रिटिस प्रधानमन्त्री ऋषि सुनकले समेत फिल्मलाई शुभकामना दिएका थिए ।
बेलायतपछि निर्देशक चाम्सले नेपालमा मात्र तीन ठाउँमा प्रिमियर गरिसकेका छन् । फागुन ५ गते धरान, फागुन ७ गते पोखरा र बुधबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर आयोजना गरिएको थियो । काठमाडौं प्रिमियरलाई विशेष बनाउन मिलनले कुनै कसर बाँकी छाडेका थिएनन् । सम्भवतः यो शैलीको भव्यता र तामझाममा नेपालमै पहिलोपटक प्रिमियर आयोजना गरिएको हो ।
प्रिमियरमा शीर्षस्थ नेतादेखि विभिन्न देशका राजदूतहरुसम्मको उपस्थिति रहेको थियो । फिल्म हेरिसकेपछि पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म मनछुने बनेको बताउँदै नेपालको इतिहासको एउटा कालखण्डलाई सम्झाउने बताए । फिल्मको कथा, अभिनय र प्रस्तुति पनि प्रभावकारी रहेको उनको भनाई थियो । फिल्मले भावुक बनाउने पनि उनले उल्लेख गरे ।
उनले भने- ‘हाम्रो एउटा इतिहासको पानासँग जोडिएको फिल्म रहेछ । यसले हाम्रो इतिहासको एउटा कालखण्डलाई सम्झाउँछ । फिल्म मनछुने छ । कहिले कहिले भावुक बनाउँछ । एकातिर लडाईं गर्दागर्दै अर्कोतिर मानवीय भावनाबाट पनि प्रेरित छ । फिल्म हेर्न थालेपछि सकिएको थाहा नै हुन्न ।’ गोर्खाली सैनिक वास्तवमै बहादुर हुन्छन् भन्ने कुरा फिल्मले देखाएको उनको भनाई थियो ।
अभिनेता हरिवंश आचार्यले फिल्ममा गोर्खालीहरुको वीरताको कथा भनिएको र त्यो कथाभित्रको वेदना र छट्पटाहटलाई मनछुने ढंगले पस्किएको भन्दै प्रशंसा गरे । उनले मेकिङ राम्रो रहेको बताउँदै भने- ‘फिल्मको टिमले असाध्धै मिहिनेत गर्नुभएको छ । यतिधेरै मिहिनेत गरिएको यो पहिलो नेपाली फिल्म होला । यो अरु फिल्मसँग तुलना गर्नै मिल्दैन । यो आफ्नै परिवेशको कथा हो ।’
त्यस्तै, पर्यटनमन्त्री सुदन किराँतीले फिल्म हेर्दा आफूले युद्धमा शहिद भएका हजुरबुबा र बुबालाई सम्झिएको स्मरण गरे । ‘फिल्म हेर्दा मैले हजुरबुबा र बुबालाई सम्झिएँ । उहाँहरु पनि लडाईंमै वित्नुभएको थियो । फिल्म हेर्दा मेरो बुबा जिउँदो हुनुभएको जस्तो लाग्यो,’ उनले भने । यस्तो विषयमा फिल्म बनाउन राज्यको तर्फबाट वातावरण निर्माण हुनुपर्ने पनि मन्त्री किराँतीको धारणा थियो ।
अभिनेता सरोज खनालले अहिले आइरहेका फिल्मभन्दा ‘गोर्खा वारियर’ निकै पृथक रहेको दाबी गरे । फिल्मले उठाएको कथा धेरै पुरानो नभए पनि धेरै नेपालीलाई थाहा नभएकोले त्यसलाई प्रष्ट रुपमा देखाइएको बताए । हाँस्य कलाकार किरण केसीले भने वीर गोर्खाली किन भनिन्छ भन्ने कुरा फिल्म हेरेपछि आफू प्रष्ट भएको बताउँदै मिलन चाम्सको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए ।
प्रिमियरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेल, एमाले नेता शेरधन राई, पूर्व मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा नेता तथा सांसद् ज्ञानेन्द्र शाहीसहित निर्देशकहरु ज्ञानेन्द्र देउजा, दीवाकर भट्टराई, अभिनेता राज कटुवाल, मोडल गरिमा शर्मा लगायतको पनि उपस्थिति थियो । प्रिमियर समारोहमा पूर्वप्रधानमन्त्री ओलीले फिल्मका अभिनेता विजय लामालाई ‘वारियर सम्मान’ समेत प्रदान गरेका थिए ।
प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि हर्षित देखिएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ एउटा ‘डकुमेन्टेसन’ रहेको दाबी गरे । ‘फिल्मको तारिफ हुँदा ठूलो उर्जा मिलेको छ । यो गोर्खा सैनिकको ‘डकुमेन्टेसन’ हो । अब गौतमबुद्ध, सगरमाथाको बारेमा भिजुअलमार्फत् ‘डकुमेन्टेसन’ हुनुपर्छ,’ उनले भने । यही शुक्रबार अर्थात् फागुन ११ गतेबाट ‘गोर्खा वारियर’ प्रदर्शनमा आउँदैछ ।