बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता तथा अभिनेता ज्याकी भगनानीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । बुधबार साउथ गोवास्थित आईटीसी ग्राण्ड होटलमा उनीहरुको विवाह भएको हो । रकुल र ज्याकीले विवाहका केही तस्वीरहरु आ-आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै सधैंका लागि एकअर्काको हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
विवाहमा रकुलले पेस्टल पिंक शेडको लेहंगा लगाएकी थिइन् भने ज्याकी क्रिम कलरको शेरवानीमा ठाटिएका थिए । यो जोडीको विवाहमा शाहिद कपूर, आयुष्मान खुराना, शिल्पा शेट्टी, भूमि पेडनेकर, अनन्या पाण्डे, समीक्षा पेडनेकर, ताहिरा कश्यप जस्ता सेलिब्रेटीहरुको उपस्थिति थियो । संगीत सेरोमनीमा शिल्पाले श्रीमान् राज कुन्द्रासँग एउटा गीतमा नृत्य समेत प्रस्तुत गरेकी थिइन् ।
रकुलले सन् २०१४ मा आएको फिल्म ‘यारियाँ’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनको अभिनय करिअरको सुरुवात भने कन्नड फिल्म ‘गिल्ली’बाट भएको थियो । त्यस्तै, ज्याकीले फिल्म ‘कल किसने देखा’बाट अभिनय करिअर थालेका थिए । यसपछि उनले केही फिल्ममा काम गरे पनि कुनै चलेनन् । अहिले उनी फिल्म निर्माणमा सक्रिय छन् । उनी निर्माता वाशु भगनानीका छोरा हुन् ।