‘इन्टु मिन्टु लण्डनमा’ जोडी साम्राज्ञी आरएल शाह र धीरज मगरले दोस्रोपटक एकसाथ काम गर्न लागेको लभस्टोरी फिल्म ‘रुमानी रंग’को निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्दै ‘स्टोरीलाइन’को बारेमा पनि जानकारी गराइयो । ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशन रहने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरिनेछ ।
रोमान्टिक-कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा साम्राज्ञी र धीरजबाहेक अरु कलाकार छनोट हुन बाँकी छ । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा बन्न लागेको फिल्मको निर्माणमा आविष्कार बहुसञ्चारले सहकार्य गरेको छ । जिएम ठकुरी प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । उनीहरुले यसअघि फिल्म ‘लाखे’को निर्माण गरेका थिए ।
महेश पौडेलको छायांकन रहने यो फिल्मको सह-निर्मातामा सुशिल थापा, श्रीजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी छन् । ९० प्रतिशत अष्ट्रेलिया र बाँकी १० प्रतिशत नेपालमा छायांकन हुने फिल्मले वर्तमान समयको आधुनिक प्रेमकथा भन्ने निर्देशक योञ्जनले जानकारी गराए । उनले फिल्मलाई रंगीन प्रेमकथाको रुपमा ब्याख्या गरेका छन् । ‘रुमानी’को अर्थ सुन्दर र मनमोहक भन्ने हुन्छ ।
प्रेममा सजिलो मात्र नभइ गाह्रो र अप्ठ्यारो पनि हुन्छ भन्ने ‘स्टोरीलाइन’मा फिल्म बन्ने साम्राज्ञीले प्रष्ट पारेकी छन् । उनले भनिन्, ‘यो कथा सुन्दा मैले आफैंलाई ‘रिलेट’ गरेको थिएँ । अनि काम गर्न तयार भएँ । म उत्साहित छु । पछि धीरज पनि साइन भएपछि खुसी भएँ ।’ ‘इन्टु मिन्टु लण्डनमा’पछि धीरजसँग उनको सम्बन्ध चिसिएको चर्चा चलेको थियो । उनले यो कुरालाई पनि खण्डन गरिन् ।
‘धीरजसँग सम्बन्ध विग्रिएकै थिएन । फिल्म गरेपछि मेरो आफ्नो बाटो लाग्ने बानी छ,’ उनले थपिन्, ‘धीरज र म भनेर कहिल्यै स्क्रिप्ट नै आएन । योपटक आयो अनि हामी पनि काम गर्न तयार भयौं ।’ उनको कुरामा धीरजले पनि सहमति जनाए । उनले साम्राज्ञीसँग फेरि काम गर्नका लागि आफू उत्साहित रहेको बताए । दुवैले पहिलोपटक एउटै कलाकारसँग दोहोर्याएर काम गर्न लागेका हुन् ।