‘ऐंचो पैंचो’ निर्देशक कृषा चौलागाईले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरेकी छन् । शुक्रबार बिहान नवलपरासीको त्रिवेणी धाम (मन्दिर)मा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । नवलपरासीसहित बुटवल र नेपालगञ्जमा पहिलो चरणअन्तर्गत १५ दिनको छायांकन हुनेछ । फिल्मको दोस्रो चरणको छायांकन भने आगामी बैशाखमा हुने जनाइएको छ ।
पहिलो चरणमा सुरक्षा पन्त, अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्यदेव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट लगायतको दृश्य खिचिनेछ । फिल्मका मुख्य अभिनेताद्वय सौगात मल्ल र प्रदीप खड्का भने दोस्रो चरणको छायांकनमा मात्र जोडिनेछन् । फिल्ममा प्रदीप एक्सन भूमिकामा देखिँदैछन् । प्रदीप भारद्वाजले फिल्मको कथा, पटकथा तथा संवाद लेखेका हुन् ।
केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । फिल्मको निर्मातामा विशाल चौलागाई छन् । फिल्मको तीन चरणमा छायांकन हुनेछ । तेस्रो चरणको छायांकन भने आगामी वर्षको असार-साउनमा हुने निर्देशक चौलागाईंले जानकारी गराएकी छन् । ‘लार्ज स्केल’मा बन्न लागेको फिल्मको बजेट पाँच करोड अनुमान गरिएको छ ।