गोर्खा सैनिकको बहादुरीको कथामा आधारित फिल्म ‘गोर्खा वारियर’ले शुक्रबारबाट व्यावसायिक प्रदर्शन सुरु गरेको छ । बिहीबार साँझसम्म बुकिङ कमजोर देखिए पनि शुक्रबार दिउँसोबाट हलहरुमा दर्शकको चहलपहल बढेको छ । विशेषगरी समुदायगत दर्शकहरुको उपस्थिति बाक्लो देखिन्छ । शुक्रबार दिउँसो फिल्म हेर्नका लागि ललितपुरको सडकमा र्याली नै निकालिएको थियो ।
गौर्खा सैनिकको ट्रेनिङ दिने संस्थादेखि विभिन्न सुमुदायगत संघ-संस्थाका व्यक्तिहरुले जावलाखेल चोकबाट नारासहित निकालेको र्याली लबिम मल पुगेर टुंगिएको थियो । र्यालीमा ६ सयभन्दा बढी सहभागी थिए । र्यालीसहित फिल्म हेर्न पुगेका दर्शकको चापले लबिम मलस्थित क्यूएफएक्स हलको १२ बजेको शो ‘हाउसफुल’ भएको छ भने बाँकी दर्शकका लागि ३ बजेको शो राखिएको छ ।
लबिम मल पुगेको र्यालीलाई सम्बोधन गर्ने क्रममा निर्देशक मिलन चाम्सले फिल्मलाई साथ दिन आग्रह गरे । उनले भने- ‘नेपालमा तीनवटा विषयमा धेरै फिल्म बन्नुपर्छ । सगरमाथा, बुद्ध र गोर्खालीको कथामा । ‘गोर्खा वारियर’ले यसको सुरुवात गरेको छ । सबैले साथ दिनुहुनेछ भन्ने विश्वास छ ।’ फिल्म हेर्न पूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको पनि हलमा सुखद् उपस्थिति देखिएको छ ।
धरानका मेयर हर्क साम्पाङ राईले त ‘गोर्खा वारियर’ हेर्न सामाजिक सञ्जालमार्फत् उर्दी नै जारी गरेका छन् । फागुन ५ गते धरान प्रिमियरमा फिल्म हेरेका उनले लेखेका छन्, ‘लाहुरेको परिवारले ‘गोर्खा वारियर’ फिल्म हेरेन भने पाप लाग्न सक्छ । अनिवार्य हेर्नु गएर । आजदेखि नेपालभर प्रदर्शन हुँदैछ । अरुले पनि हेर्नु, नेपाली फिल्म यत्तिको बनेको छैन । रुँदा-रुँदा हैरान भएँ अस्ति ।’