अभिनेत्री रेखा थापा आमा बनेकी छन् । उनले शुक्रबार बिहान अमेरिकाको कोलोराडो शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । अस्पतालको शैय्यामा छोरीलाई छातीमा टाँसेर श्रीमान् बलराम शाही ठकुरीसँगको केही तस्वीर सामाजिक सञ्जालमा सेअर गर्दै रेखाले आफू आमा बनेको जानकारी गराएकी हुन् । उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् ।
रेखाले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान् कारण छ ।’ पहिलो सन्तानलाई जन्म दिन रेखा गत मंसिरमा श्रीमानको साथमा अमेरिका उडेकी थिइन् । एकातिर उनी आमा बन्दै गर्दा अर्कोतिर उनी अभिनीत फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअर्थ फागुन महिना उनका लागि विशेष देखिएको छ ।
२०७८ सालको माघ अन्तिममा रेखाले शाहीसँग कानुनी विवाह गरेकी थिइन् । उनको यो दोस्रो विवाह हो । बिहेअघि रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । रेखाले गर्भवती अवस्थामै ‘उपहार’मा काम गरेकी हुन् । छायांकनको बेला उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको थियो । प्राप्त जानकारी अनुसार, रेखा आगामी बैशाखमा श्रीमान् र सन्तानसहित नेपाल आउने छिन् ।