मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’ले सामान्य मान्छे कसरी असामान्य बन्छ भन्ने देखाउँछ : दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2024/02/25

अभिनेता दयाहाङ राईले लामो समयदेखि ‘स्टेरियोटाइप’को आरोप खेपिरहेका छन् । फिल्ममा उनको व्यस्तता र माग चुलिँदो भए पनि चरित्र र अभिनयमा विविधता दिन सकेका छैनन् । तर, यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’ले उनी ‘स्टेरियोटाइप’को आरोपबाट मुक्त हुनसक्ने देखिन्छ । किनकि, यसमा उनी ग्याङस्टर भूमिकामा छन् । फिल्म ‘छड्के’पछि उनी दोस्रोपटक ग्याङस्टर भूमिकामा देखिन लागेका हुन् ।

 

Dayahang Rai Rangeli Photo 3


दयाहाङको बुझाइमा ‘छड्के’ र ‘रङ्गेली’को ग्याङस्टर चरित्रको उठान भेगीय हिसाबले फरक छ । ‘रङ्गेली’मा विजय पात्रको भूमिकामा रहेका उनी भन्छन्, ‘मैले अहिलेसम्म गरिरहेको चरित्रहरु प्राय: ‘ग्रे’ छन् । ती चरित्रमा नेगेटिभ र पोजेटिभ दुवै कला छ । ‘रङ्गेली’को चरित्रलाई पनि ‘ग्रे’ मान्न सकिन्छ, तर आम मानिसको सोचाइबाट हेर्दा यसमा ‘डार्क’ चरित्र नै देखिन्छ । फिल्ममा विजयभित्र रहेका मानवता र अनुभूतिका कुरा छ ।’

विजय जस्तो पात्र समाजमा जन्मियो भने त्यो घातक हुनसक्ने उनको बुझाई छ । तर, आफ्नो चरित्रले समाजका एकदमै सामान्य मान्छेहरुको जीवनलाई उठान गरेको छ भन्ने उनलाई लाग्छ । दयाहाङ अगाडि भन्छन्, ‘यसले सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने कुरा देखाउँछ ।’

आफ्नो चरित्रले समाजमा देखिरहेका पात्रहरु अथवा यही जीवन बाँचिरहेकाहरुलाई चित्रण गरेको उनको ठम्याई छ । तर, आफ्नो चरित्रलाई सामान्य भएर बाँच्न सहज छैन भन्ने उनलाई लाग्छ । कहीँ कतै आफैंलाई खोजिरहेको पात्रमा आफूले अभिनय गरेको उनको भनाई छ । विजय चरित्र आफ्नो लागि चाखलाग्दो यात्रा रहेको अनुभव सुनाउँदै उनले एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिने बताएका छन् ।

विजय चरित्र ‘डार्क’ भए पनि त्यसभित्र इमानदारिता देख्छन्, दयाहाङ । ‘ऊ आफ्नो जीवनमा इमानदार साथ भएर हिँड्ने प्रयास पनि गरिरहेको हुन्छ । जब पावर र पैसाको कुरा आउँछ अर्थात् उसलाई पनि जीवनको अलिकति माथि पुग्न मन लाग्छ । किनकि, त्यो मान्छेको स्वभाव नै हो । त्यो खोज्दा चाहिँ उसको आफ्नो जीवन कठिन बन्छ । त्यो बेला उसलाई वरपरकाले प्रयोग गरिरहेकै हुन्छन् । विजयको मनोविज्ञान भित्रको चापको यात्रा यसमा हेर्न पाइन्छ,’ उनले प्रस्ट्याए ।

 

Dayahang Rai Rangeli Photo 3


समाजमा कोही पनि खलपात्र हुँदैन भन्ने उनको बुझाई छ । ती मानिसहरु समाजभित्र फरक भएकाले पनि समाजले ‘इग्नोर’ गर्ने उनको धारणा छ । ‘हरेक मान्छेमा फरक पाटो हुन्छ । म यसरी यो बाटो पुग्छु भनेर जो मान्छे यात्रा गरिरहेको हुन्छ । समाज अगाडि दौडिरहँदा त्यस्ता मान्छे छुट्नु हुन्न भन्ने ख्याल राख्नुपर्छ । उसको आवश्यकता सुन्नुपर्छ । उसको पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ,’ दयाहाङ सुनिए ।  

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् ।