मिति : २०८१ मंसिर ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गायक भक्तराज आचार्यको निधन

फिल्मीखबर, काठमाडौं, 2024/02/26

Bhaktaraj acharya

 

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न उपचारका लागि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । घरमै अस्वस्थ भएपछि उनलाई छोरा स्वरुपराज आचार्यले ललितपुरको मेडिसिटी अस्पताल लगेका थिए । तर, अस्पताल नपुग्दै उनको बाटोमा निधन भएको हो । ८२ वर्षको उमेरमा निधन भएका उनी भजनशिरोमणिको रुपमा चर्चित छन् ।

उनको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी भैरहेको जानकारी प्राप्त छ । दशैंको समयमा लडेर टाउकोमा चोट लगेपछि आचार्य घरमै आराम गर्दै आइरहेका थिए । २०४६ मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनी गाउन नसक्ने भएका थिए ।

बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा जन्मिएका भक्तराज वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भएका थिए । वि.सं. २०४६ सालसम्ममा आचार्यले साढे चारसय गीत रेकर्ड गरिसकेका थिए । उनले गजल, भजन, राष्ट्रिय गीत र बालगीत समेत गाएका छन् ।

आचार्यको ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको’, ‘जति चोट दिन्छौ’ लगायत गीत कालजयी छन् । उनको जीवनीमा आधारित भएर फिल्म ‘आचार्य’ समेत बनेको छ । ११ वर्षअघि निर्माण भएको फिल्ममा उनकै छोरा सत्यराज आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन् । गायक भक्तराजको निधनप्रति राजनीतिज्ञदेखि संगीतकर्मीसम्मले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।