टिजर र ट्रेलरबाटै ठूलो ‘हाइप’ बनाएको फिल्म ‘अगस्त्य’ले इनिसियल व्यापार कस्तो गर्यो भन्ने चासो धेरैमा हुनसक्छ । देशभर गरि करिब डेढ सय शोज पाएको फिल्मले अपेक्षाकृत ओपनिङ गर्न चुकेको छ । पहिलो दिन फिल्मको देशभर ३० प्रतिशत हाराहारी अकुपेन्सी देखिएको थियो । शनिबारको विदामा भने फिल्मको अकुपेन्सी ६० प्रतिशतमाथि थियो । जसलाई सुखद् मान्न सकिन्छ ।
आइतबारबाट फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । अर्थात् अबको दिन फिल्मका लागि महत्त्वपूर्ण छ । दर्शकबाट फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ । मध्यान्तर अगाडिको भाग सुस्त रहेको भन्दै आलोचना भइरहेको छ भने दोस्रो पार्टलाई तुलनात्मक रुपमा रुचाइएको छ । फिल्मको मेकिङ, द्वन्द्व, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनयको प्रशंसा भएको छ ।
शनिबार फिल्मका प्रमुख कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन र मलिका महतले काठमाडौंका केही हलहरुमा पुगेर दर्शकसँग भेट्दै प्रतिक्रिया बुझेका थिए । त्यहाँ अधिकांश दर्शकबाट उनीहरुको कामको तारिफ भएको थियो । कतिले अब सिक्वेलको पखाई रहने प्रतिक्रिया समेत जनाएका थिए । आफूहरुले गरेको कामको दर्शकबाट राम्रो मुल्यांकन भएकोमा सौगातले खुसी व्यक्त गरे ।
उनलाई फिल्म हेरेपछि आफ्नो क्यारेक्टरमा अझै केही गर्न सकिन्थ्यो भन्ने महसुस भएको छ । ‘फिल्म हेरेपछि आफ्नो क्यारेक्टरमा अझै गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर अब त्यो हातमा फुत्किसक्यो,’ उनी भन्छन्, ‘फिल्म हेर्दा आफ्नो एकपछि अर्को गल्ती देखिँदै जाने रैछ । त्यो गल्तीका बावजूद दर्शकले राम्रो प्रतिक्रिया दिँदा ज्यादै खुसी छु ।’ फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् ।