अभिनेत्री अनु शाह फिल्ममा नदेखिएको ५ वर्ष भइसकेको छ । उनको पछिल्लो फिल्म ‘पसिना’ सन् २०१९ मा रिलिज भएको थियो । यसपछि उनले फिल्ममा काम गरेकी थिइनन् । लगातार फिल्मको असफलताले पनि उनी हच्किएकी थिइन् । र, उनलाई फिल्म अफर पनि कम भएको थियो । यद्यपि, यो बीचमा उनी अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण अक्सर चर्चामा थिइन् ।
अब भने अनुले फिल्म ‘ईश्वर’बाट कमब्याक गरेकी छन् । यसमा उनको जोडी ‘मंगलम’ अभिनेता पृथ्वीराज प्रसाईंसँग बाँधिएको छ । पृथ्वीको पनि यो कमब्याक फिल्म हो । उनको पछिल्लो रिलिज फिल्म ‘डोली’ थियो । ‘ईश्वर’को यसै साता छायांकन सकिएको छ । कास्की जिल्लाको पर्यटकीय क्षेत्र पोखरा र हेम्जाकोटमा २७ दिन छायांकन भएको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।
फिल्ममा अनु र पृथ्वीसँगै सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल, ध्रुव थापा, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको पनि अभिनय छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद लेखन भोजराज देवकोटाको हो । रामेश्वर हुँमागाईको छायांकन रहेको फिल्मको निर्मातामा हरिबहादुर थापा र शंकर गिरी छन् ।