‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ४४ सेकेण्डको ‘कमेडीयुक्त’ ट्रेलरमा तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले एक गाडी पैसा लुकाउने जिम्मा पाएपछिको उतारचढावलाई चित्रण गरिएको छ । ट्रेलरमा समावेश केही पञ्चलाइनले स्वभाविक रुपमा हाँसो पैदा गराउँछ ।
अभिनेता हरिवंश आचार्य नकारात्मक चरित्रमा छन् । नेताको भूमिकामा रहेका उनको कालो धन लुकाउन तीन पात्रले गर्ने संघर्ष र त्यो पैसा खोज्न प्रहरीले गरेको दौडधुपमा ट्रेलर घुमेको छ । कालो धन र बेरोजगारीको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । अपराधको पैसाले विरोल्छ भन्ने सन्देश पनि ट्रेलरले दिएको छ । ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ भन्ने फिल्मको ट्यागलाइन छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने निर्माताहरुमा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।