ठूलो चर्चाका बीच यही शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’को बिहीबार ललितपुरको लबिम मलमा प्रिमियर राखिएको थियो । जहाँ फिल्मलाई मिश्रित प्रतिक्रिया मिल्यो । फिल्मकर्मीहरुले खुलेर तारिफ गर्दा पत्रकारहरुले कथावाचन शैली र प्राविधिक पक्षमा कयैन् प्रश्न उठाएका थिए । प्रिमियरमा फिल्म अत्याधिक ‘डार्क’ देखिएको थियो भने ‘ब्याकग्राउन्ड म्यूजिक’ दबिएको थियो ।
शुक्रबार साँझसम्म हलहरुमा प्रिमियरकै ‘फाइल’ पुग्दा दर्शकहरु पनि निराश भएर फर्किएका थिए । फिल्म ‘डार्क’ हुँदा कलाकार नै चिन्न मुश्किल हुन्थ्यो भने ब्याकग्राउन्ड म्यूजिक दबिँदा कुनै पनि दृश्यले प्रभाव छाड्न सकेका थिएनन् । कति ठाउँमा फिल्मको डबिङ पनि हराएको थियो । शनिबारबाट भने हलहरुमा अर्को ‘फाइल’ पठाइयो, त्यसपछि दर्शकको प्रतिक्रिया पनि फेरिएको छ ।
प्रिमियरमा ‘डार्क’ देखिएको फिल्म अहिले उज्यालो छ । दृश्यहरु स्पष्ट बुझिन्छ । ब्याकग्राउन्ड म्यूजिक र डबिङ पनि फर्किएको छ । जसले गर्दा फिल्मलाई धेरै हदसम्म प्राण भरेको छ । यद्यपि, सिंक साउन्ड (लोकेसनको साउन्ड)मा अझै कमजोरी छ । फिल्मको सबैभन्दा राम्रो पक्ष भनेको छायांकन हो । कथा र पात्रको भावअनुकूल छायाँकार सञ्जय लामाले आकर्षक दृश्य कैद गरेका छन् ।
फिल्मको प्राविधिक पक्ष सुध्रिएसँगै हलमा दर्शकहरुको चाप पनि वृद्धि हुन थालेको छ । शुक्रबार औसत रहेको फिल्मको व्यापार शनिबार सन्तोषजनक थियो । आइतबार केही खस्किएको फिल्म सोमबारबाट लयमा फर्किन थालेको छ । मंगलबार फिल्मीखबर टिम चाबहिलस्थित एफक्युब हलमा पुग्दा साढे ११ बजेको शोमा ७० प्रतिशत र २ बजेको शोमा ८० प्रतिशतसम्म अकुपेन्सी थियो ।
मंगलबार देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं र मोफसलका स्टेशनसहित बिग मुभिज्, वान् सिनेमाज्, सिडिसी सिनेमाज्, पोखराको मिडटाउन सिनेमाज्, धरानको फ्रेन्ड्स सिनेमाजमा पनि दर्शकको उपस्थिति सुखद् थियो । निर्देशक सौरभ चौधरीले फिल्ममा दर्शकको चाप बढ्दै गएकोमा खुसी व्यक्त गरे । भोलिबाट उनी कलाकारसहित देश दौडाहामा निस्किँदैछन् ।
निर्देशक चौधरी स्वयंको लेखन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्गदेल, बेन बस्नेत लगायतको अभिनय छ । फिल्मको निर्माताहरु प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल हुन् भने कार्यकारी निर्माताहरु विश्व गौचन र अभिषेक चौधरी हुन् । यसको सिक्वेल सन् २०२६ मा रिलिज गर्ने घोषणा समेत भइसकेको छ ।